कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

लगानी थपेर झन् ठूलो खेलाडी बन्दै ओपेनएआई

भाद्र २८, २०८१
लगानी थपेर झन् ठूलो खेलाडी बन्दै ओपेनएआई

काठमाडौँ — च्याटजीपीटी निर्माता ओपेनएआईले १५० अर्ब डलरको मूल्यांकनमा थप लगानी उठाउने चर्चा चलेको छ । यसो भएमा ओपेनएआई विश्वकै ठूला स्टार्टअप कम्पनीमध्ये एक हुनेछ । कम्पनीले एप्पल, एनभिडिया, माइक्रोसफ्टजस्ता टेक जायन्टहरूबाट ६.५ अर्ब डलर लगानी उठाउने विषयमा छलफल गरिरहेको र बैंकबाट ५ अर्ब डलर ऋण लिन खोजेको ब्लुमबर्ग न्युजले जनाएको छ ।

यस वर्षको सुरुवातमा कम्पनीले आफ्ना सेयरधनीहरूलाई उनीहरूको शेयर बेच्न प्रस्ताव गर्दा कम्पनीको मूल्यांकन ८६ अर्ब डलर गरेको थियो ।

जस कुस्नरले सञ्चालन गरेको भेन्चर क्यापिटल फार्म थ्राइभ क्यापिटलमार्फत ओपेनएआईले लगानी सम्झौता अघि बढाउने रोयर्टसले उल्लेख गरेको छ । थ्राइभले १ अर्ब डलर लगानी गर्ने अपेक्षा गरिएको छ । ब्लुमबर्गका अनुसार सेमिकन्डर चिप उत्पादक एनभिडियाले ओपेनएआईमा १० करोड डलर लगानी गर्ने विषयमा छलफल भएको छ ।

माइक्रोसफ्टले यसअघि नै ओपेनएआईमा उल्लेखनीय लगानी गरिसकेको छ । यसअघि १३ अर्ब डलर लगानी गरेको माइक्रोसफ्टले पनि थप लगानीका लागि चासो देखाएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाले जनाएका छन् । एप्पलले भने कति लगानी गर्दै छ भन्ने खुलेको छैन । आफ्ना डिभाइसहरूको सबैजसो नयाँ भर्सनमा एआईको प्रयोग थपेको एप्पलले ओपनएआईको च्याटजीपीटीजस्ता सेवालाई आफ्ना समाहित गर्न लागेको छ ।

गत जुनमा एप्पलले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानको उपस्थितिमा आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्स गरेको थियो । उक्त कार्यक्रममा एप्पलका प्रमुख टिम कुकले 'एप्पल इन्टेलिजेन्स'लाई विभिन्न सेवामा प्रयोग गर्ने र एआई साझेदारीहरू बढाउने घोषणा गरेका थिए ।

च्याटजीपीटीको व्यापक सफलताले ओपेनएआईलाई आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको महत्वपूर्ण खेलाडी बनाइदिएको छ । लगानी थपेर झनै बलियो खेलाडी बन्न गइरहेको कम्पनीले यसबाट तत्काललै पूँजी बजारमा प्रवेश नगर्ने योजना बुझ्न सकिन्छ । पूँजी बजार प्रवेश गर्दाका नियामकीय लागत र बजारको उतारचढावका कारण तिब्र गतिमा अघि बढिरहेका स्टार्टअप कम्पनीहरूले लामो समय प्राइभेट लिमिटेडमै रहन इच्छा देखाउन थालेका छन् ।

फोर्ज ग्लोबल होल्डिङ्स नामक पूँजी बजारसम्बन्धी विश्लेषण गर्ने कम्पनीले बुधबार सार्वजनिक गरेको ‘निजी सात शानदार’ स्टार्टअपहरूको सूचीमा ओपेनएआईलाई समावेश गरेको थियो । ‘सात शानदार’ भनेको माइक्रोसफ्ट, एप्पल, अल्फाबेट (गुगल), टेस्ला र दोस्रो बजारमा उच्च मूल्य भएका प्रविधि कम्पनीहरूको समूह हो ।

प्रकाशित : भाद्र २८, २०८१ १६:०१
×