कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नजिकियो दसैं, टिकट बुकिङको छैन सुरसार

आश्विन २, २०८१
नजिकियो दसैं, टिकट बुकिङको छैन सुरसार

काठमाडौँ — यस वर्षको दसैं सुरु हुन अब १५ दिन मात्र बाँकी रहे पनि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्नेबारे सरकारले अझै सुरसार गरेको छैन । प्रायः घटस्थापनादेखि उपत्यकाबाट बाहिरिले क्रमले तीव्रता पाउने गरेको छ ।

यस वर्ष दसैंको घटस्थापना यही असोज १७ गते भए पनि अग्रिम टिकब बुकिङबारे अन्योल छ । कहिलेबाट बुकिङ खुल्ला गर्ने भन्नेबारे यातायात व्यवसायी र सरकारी निकायबीच छलफल नै हुन नसकेको व्यवसायीहरू बताउँछन् । एक/दुईवटा यातायातले सरकारको निर्णय नपर्खी आफ्नै सुरले अग्रिम बुकिङ खुल्ला गरेका छन् । अहिलेसम्म पूर्व अरनिको यातायात प्रालि र पृथ्वी राजमार्ग यातायातले अग्रिम बुकिङ खुल्ला गरेको छन् ।

दसैंमा झन्डै २० लाख यात्रुले उपत्यका छाड्ने गरेका छन् । अग्रिम बुकिङ खुल्ला गर्नेबारे कुनै निर्णय नभएपछि काउन्टरहरूमा पछि टिकट नपाउने डरले स्वःस्फुर्त रूपमा यात्रुहरूले टिकट बुकिङ गर्न थालेका छन् । यातायात व्यवसायीले भने सडक सुधार नभएसम्म चाडबाडमा यात्रु लिएर जान समस्या हुने बताउँदै आएका छन् । उनीहरूको माग घटस्थापना अघि नै सडक सहज बनाइसक्नुपर्ने भन्ने छ । मनसुन जारी रहेकाले मुख्य राजमार्गमै पहिरोको समस्या छ । सडक विभागका अनुसार मंगलबार साँझसम्म विभिन्न सडक खण्डको ६ सय १७ स्थानमा पहिरो खसेर यातायात ठप्प छ । एउटै राजमार्गको आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर समस्या थपिएको छ ।

देशभर सडक बिग्रिएर गाडी चलाउन समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘नौबिसे–मलेखु खण्डको बैरेनीमा समस्या छ, ग्रामीण क्षेत्रका सडकको दुरवस्थाबारे त झन कुरै नगरौं,’ उनले भने, ‘दसैंमा यात्रुलाई सदरमुकाम मात्र पुर्‍याउने काम हुँदैन, ग्रामीण क्षेत्रको घर गाउँसम्मै पुर्‍याउने हो, त्यसका लागि सडक राम्रो हुनुपर्छ ।’

यात्रु पुर्‍याएर त्यही गाडी फेरि काठमाडौं फर्किने र यात्रु लिएर जाने भएकाले सहजै गन्तव्यसम्म पुग्ने सडक सरकारले समस्यारहित बनाउनुपर्ने उनले बताए । ‘अरु काम नगरे पनि यो बेला सडकका खाल्डाखुल्डी टालेर गाडी गुड्न सहज बनाइदिए मात्र हाम्रा लागि ठूलो राहत मिल्ने थियो,’ उनले भने, ‘अब दसैं आउन धेरै छैन, त्यसैले यो काम गर्न ढिलाइ गर्नुभएन ।’

उनका अनुसार बुधबार औपचारिक रूपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अग्रिम बुकिङलगायत विषयका सम्बन्धमा छलफल गर्न मन्त्रालय बोलाएका छन् । ‘हामी आन्तरिक रूपमा अग्रिम बुकिङ खुल्ला गर्नेबारे छलफल गर्दै आइरहेका छौं,’ उनले भने, ‘सडकको समस्यादेखि अग्रिम बुकिङ कहिले खोल्नेबारे मन्त्रालयमा छलफल हुने छ ।’ लामो समयदेखि भाडा समायोजनको कुरा उठाउँदै आए पनि चाडबाडकै मुखमा यो कुरा उठाएर बुकिङ खुल्ला गर्न ढिलाइ गरिएको भन्ने कुरा गलत रहेको उनले दाबी गरे । गत वर्ष व्यवसायीले भाडा समायोजनको कुरा अघि सार्दा बुकिङ खुल्ला गर्न ढिलाइ भएको थियो । घटस्थापनाको ६ दिनअघि बुकिङ खुलाइएको थियो ।

‘दसैंका लागि घर जाने यात्रुको संख्या घटस्थापनापछि धेरै हुन्छ,’ उनले भने, ‘त्यसैले देशभर गाडी गुड्ने सडकको सबै समस्या समाधान गरेर गाडी चलाउने वातावरण सरकारले बनाउनुपर्छ ।’ दसैंको बेला देशभर सञ्चालन गर्न मिल्नेगरी यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनलाई रुट परमिट खुल्ला गरिदिने गरेको छ । पहिलो प्राथमिकता यात्रुबाहक सवारीसाधनलाई दिनुपर्ने सिटौलाको भनाइ छ । ‘हामी यो बेलासम्म अग्रिम बुकिङ खुल्ला गर्ने मिति तोकेर त्यहीअनुसार तयारी गरौं भन्ने पक्षमै थियौं,’ उनले भने, ‘अहिलेसम्म सरकारी निकायबाटै ढिलाइ भएको हो, ढिलो छलफलका लागि बोलाउँदा निर्णय गर्न पनि ढिलाइ भएको हो ।’

अहिले स्तरोन्नति थालिएका सडकहरूमा बढी समस्या छ । जहाँ पहिरोको जोखिम र ट्राफिक जाम बढी हुने गरेको छ । नागढुंगादेखि मुग्लिन र मुग्लिनदेखि पोखरा खण्डमा समस्या बढी छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकमा झन् बढी समस्या छ । बीपी रमाजार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध बन्दै आएको छ । त्यस्तै निर्माणाधीन मध्यपहाडी, मदनभण्डारीलगायतका राजमार्गको ठाउँ–ठाउँमा पहिरोको समस्या छ ।

यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई छलफलमा बोलाइएकाले बुधबार अग्रिम बुकिङ खुल्ला गर्नेबारे निर्णय हुन सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताए ।

‘काठमाडौं जोड्ने राजमार्गहरू स्तरोन्नतिका क्रममा रहेकाले केही असुविधा छ, अहिले पहिरोले गर्दा राजमार्ग बन्द हुने गरेकाले सबैलाई चासो छ, जसले गर्दा अग्रिम बुकिङका लागि ढिलो भयो भन्ने छ,’ उनले भने । घटस्थापनादेखि उपत्यकाबाट बाहिरिने गाडीको चाप धेरै हुन्छ । चाडबाडमा एक दिनमा २ लाखसम्म यात्रु बाहिरिन्छन् ।

प्रकाशित : आश्विन २, २०८१ ०५:४७
x
×