कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

भूकम्पको ९ वर्षपछि चढ्न पाइने भयो धरहरा 

आश्विन ३, २०८१
भूकम्पको ९ वर्षपछि चढ्न पाइने भयो धरहरा 

Highlights

  • एक दिनमा पाँच सय सर्वसाधारण चढ्न पाउने, समय बिहान साढे १० देखि दिउँसो साढे ४ बजेसम्म 

काठमाडौँ — भूकम्प गएको ९ वर्षपछि सर्वसाधारणले धरहरा चढ्न पाउने भएका छन् । त्यसका लागि संविधान दिवसको अवसर पारेर बिहीबारदेखि धरहरा चढ्न खुला गरिएको हो । अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउनेछन् । परीक्षणका रूपमा धरहरा चढ्न खुला गरिएको हो । 

बिहान साढे १० देखि दिउँसो साढे ४ सम्म सर्वसाधारणले धरहरा चढ्न पाउनेछन् । त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वेबसाइट धरहरा डटजीओभीडटएनपीमा गएर बुकिङ गर्न सकिनेछ । केही प्राविधिक समस्याका कारण वेबसाइटमा तत्कालका लागि बुकिङ खुला भएको छैन । केही दिनमै यो समस्या समाधान हुने विभागले जनाएको छ ।

अहिले छुट्टै बुकिङका लागि एप तयार भइनसकेकाले वेबसाइटमार्फत नै यो सुविधा उपलब्ध गराइने विभागका उपमहानिर्देशक कोषनाथ अधिकारीले बताए । धरहरा चढ्न अघिल्लो दिन नै बुकिङ गर्नुपर्नेछ । ‘वेबसाइटबाट बुकिङ गर्न तत्काल केही प्राविधिक कारणले समस्या भएको छ,’ उनले भने, ‘छिट्टै समाधान गरेर अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था मिलाउनेछौं ।’ अनलाइन बुकिङ सुरु नहुँदासम्म कुपनमार्फत धरहरा चढ्ने व्यवस्था गरिने अधिकारीले सुनाए । अनलाइन बुकिङ गर्दा भने क्यूआर कोड आउने र त्यो लगेर धरहराको गेटमा देखाएपछि चढ्न पाइनेछ ।

अहिले अन्तरिम रूपमा धरहरा खुला गरिएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जनाए । ‘लामो समयपछि धरहरा सञ्चालन गर्दा केही कमीकमजोरी हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई सुधार गर्दै लगिनेछ ।’ ‘बेसमेन्ट’ मा केही सुधार गर्न बाँकी छ भने पार्किङ खुला गरिएको छ । अहिले प्रतिदिन ६ सय जनाले मात्र धरहरा चढ्न पाउनेछन्, जसमा अनलाइनमार्फत बुकिङ गर्ने ५ सय जनाले धरहरा चढ्न पाउनेछन् । बुकिङ गर्न नसक्ने अपांगता भएका र ज्येष्ठ नागरिकलाई धरहरा चढ्ने ठाउँमै पास उपलब्ध गराइने बताइएको छ । यो सुविधा एक दिनमा एक सय जनाका लागि मात्र उपलब्ध हुनेछ ।

परिवारमा आमा–बुबा, छोरा–छोरीसहित चार जनासम्मले एकै पटकमा अनलाइन बुकिङ गर्न सक्नेछन् । धरहरा सञ्चालन हुने ६ घण्टामध्ये एक घण्टा खाजा ‘ब्रेक’ हुनेछ । बाँकी पाँच घण्टामा सय–सयका दरले ५ सय जनालाई धरहरा चढ्ने व्यवस्था मिलाइएको छ । ‘यसलाई परीक्षणका रूपमा हेर्न लागिएको हो, कस्तो प्रतिक्रिया आउँछ, चढ्नेको संख्या कस्तो हुन्छ, त्यसपछि आवश्यक परे एकै दिनमा एक हजारसम्म जान मिल्ने व्यवस्था पनि गर्न सकिन्छ,’ गेलालले भने, ‘सञ्चालन अनुभवका आधारमा सुधार गर्दै लैजान्छौं ।’

‘जनतालाई धरहरा चढ्ने ठूलो चाहना छ,’ सचिव गेलालले भने, ‘सधैं निःशुल्क गर्न त सकिँदैन, पछिपछि आम्दानी गर्दै सञ्चालन गर्ने व्यवस्था हुन्छ ।’ उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि खुला गर्नु अघिल्लो दिन बुधबार साँझ धरहरा पुगेर सञ्चालन तयारीबारे जानकारी लिएका छन् । ‘अहिले अस्थायी रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो,’ मन्त्री सिंहले भने, ‘त्यसैले निःशुल्क चढ्ने व्यवस्था गरेका हौं, कार्यविधि बनेपछि त्यहीअनुसार यसको सञ्चालन व्यवस्थित गर्छौं ।’

मन्त्रालयले धरहरा सञ्चालनका लागि नयाँ कार्यविधि तयार पारेर सम्बन्धित मन्त्रालयहरूमा रायका लागि पठाएको थियो । मन्त्रालयले भविष्यमा निजी क्षेत्रलाई निश्चित समय तोकेर भाडामा दिने गरी कार्यविधि बनाएको हो । त्यसका लागि खुला प्रतिस्पर्धा गरेर कम्पनी छनोट गरिने बताइएको छ । धरहरा सञ्चालनसम्बन्धी कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पठाइएको थियो ।

अर्थबाट सहमति लिएर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको गेलालले बताए । ‘कानुन मन्त्रालयबाट राय आएपछि मन्त्रिपरिषद्मा पठाउँछौं,’ गेलालले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय भएपछि संस्था जन्मिन्छ । त्यसपछि अर्को व्यवस्था नहुँदासम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरका कार्यकारी निर्देशकबाटै यसको सञ्चालन हुन्छ ।’ यद्यपि यसअघि ०७८ वैशाख ११ मै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । उद्घाटन गरे पनि निर्माण पूरा नहुँदा सञ्चालनमा आउन सकेको थिएन ।

धरहरामा दुइटा लिफ्ट राखिएका छन् । एउटा लिफ्टमा १० जनासम्म अट्छन् । धरहराको वरपर पानीका फोहोरा सञ्चालन गरिने उनको भनाइ छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले धरहरा क्षेत्रमा पानीको व्यवस्था गरिदिएको छ । बिजुलीका लागि नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर राखिदिएको गेलालले जनाए । गृह मन्त्रालयले चौबिसै घण्टा प्रहरी उपलब्ध गराइरहेको र आवश्यक कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन गरिदिएको छ ।

प्रकाशित : आश्विन ३, २०८१ ०६:०९
x
×