कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

असोज ११ गते ‘ठमेल नखः’ हुने

असोज ११ गते ‘ठमेल नखः’ हुने

काठमाडौँ — ४४ औं विश्व पर्यटन दिवसका अवसरमा ठमेल पर्यटन विकास परिषद् र दि काठमाण्डू पोस्टको सहकार्यमा असोज ११ गते शुक्रबार ‘ठमेल नखः महोत्सव हुने भएको छ ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले ठमेलमा असोज ११ गते बिहान १० देखि राति १० बजेसम्म महोत्सव गर्न लागेको जानकारी दिएको हो । महोत्सवमा स्थानीय संस्कृति, संगीत, कला र खानपान समावेश गरिनेछ ।

महोत्सवका संयोजक राजीव पाण्डेले ठमेलको भावना र पर्यटनका लागि गतिशील हबका रूपमा विकास गर्ने उद्देश्यले ठमेल नखः आयोजना हुन लागेको बताए । नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्न महोत्सव अद्वितीय हुने उनको भनाइ छ ।

महोत्सवका मुख्य आकर्षणमा सांस्कृतिक उत्सव, कान्तिपुर कला, चंगा प्रदर्शनी, सात घुम्तीमा स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरु, मार्सल आर्टसको प्रदर्शनी, समकालीन परम्परागत ध्वनिहरू मिसाइएको लाइभ संगीत तथा ट्याटु कला प्रदर्शनी आदि छन् ।

विगतमा कर्मचारी सञ्चय कोष अगाडिमात्रै आयोजना गरिने कार्यक्रमलाई यो वर्ष व्यापक बनाई ठमलेका विभिन्न सात क्षेत्रमा विस्तार गरिएको छ । जसअनुसार कर्मचारी सञ्चयकोष परिसरमा सांस्कृतिक उत्सव, नरसिंह चोकमा कान्तिपुर कला, पर्यटन मार्गमा चंगाहरुले भरिएको आकाश, सात घुम्तीमा स्वादिष्ट यात्राका साथै मय थाई खेलाडीले मार्सल आर्ट प्रस्तुत गर्नेछन् । त्यस अवसरमा सांगीतिक दबूः, ट्याटु उत्सवलगायत कार्यक्रम गरिने पाण्डेले जनाए ।

रेस्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) का अध्यक्ष संघर्ष विष्टले महोत्सवका माध्यमबाट ठमेलको जीवन्त संस्कृति, पाककलाको प्रस्तुतिले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवका लागि करिब १८ लाख रुपैयाँ खर्च लाग्ने तथा १० हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

ठमेललाई पर्यटनको जीवन्त केन्द्रका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले विगतभन्दा पृथक् ढंगले पर्यटन दिवसलाई महोत्सवका रुपमा मनाउन लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताए । उनले महोत्सवले ठमेलको प्रमुख पर्यटकीय गन्तव्यको हैसियत बढाउने र साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरे ।

प्रकाशित : आश्विन ३, २०८१ १८:५२
×