कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

आगामी साउनदेखि बिमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी

आश्विन ३, २०८१
आगामी साउनदेखि बिमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी

काठमाडौँ — बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस–१७) पूर्ण रुपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि सरोकारवालाहरुसँग विभिन्न छलफल कार्यक्रमहरु भएका छन् ।

बुधबार नेपाल बिमा प्राधिकरणको आयोजनामा एनएफआरएस–१७ कार्यान्वयनका लागि आवश्यक तयारीलगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउन लागेको एनएफआरएस–१७ को सम्बन्धमा बिमा कम्पनीहरूले गर्नुपर्ने तयारी, लेखासम्बन्धी नियामक निकायको भूमिका, जनशक्ति तथा नविनतम प्रविधिको प्रयोगलगायत विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले आगामी साउनदेखि एनएफआरएस–१७ कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भिरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताए । ‘एनएफआरएस–१७ कार्यान्वयन गर्न कठिनाई भए पनि कार्यान्वयन गर्नु पर्छ, गर्न सकिन्छ, यसका लागि मार्गनिर्देश बनाएर अगाडि बढ्नुपर्छ, नियामक निकायहरू सहयोग गर्न तयार छन्,’ उनले भने ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अध्यक्ष प्रवीणकुमार झाले बिमा क्षेत्रमा एनएफआरएस–१७ कार्यान्वयनका लागि आईक्यानबाट सूचना आदानप्रदानलगायत पूर्णरूपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

लेखा परीक्षणमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले लेखा परीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखा परीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ १८:०२
×