कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

सुक्खा बन्दरगाहमै रोकिए २८ सय कन्टेनर

भाद्र २८, २०८१
सुक्खा बन्दरगाहमै रोकिए २८ सय कन्टेनर

Highlights

  • आयातकर्ताले समयमै नलैजाने र खाली कन्टेनर पनि भारतीय बन्दरगाहहरूमा फिर्ता नलैजाने प्रवृत्तिले बन्दरगाह परिसरमा कन्टेनरको भीड 

पर्सा — आयातकर्ताले समयमै कन्टेनर नलग्दा र खाली कन्टेनर फिर्ता जान नसक्दा सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरको भीड बढेको छ । बन्दरगाह परिसरमा मालवाहक १ हजार ६ सय ५० र खाली १ हजार १ सय ५० गरी २ हजार ८ सय कन्टेनर छन् ।

आयातकर्ताले समयमै नलैजाने र खाली कन्टेनर समयमा भारतीय बन्दरगाहहरूमा फिर्ता नजाने प्रवृत्तिले बन्दरगाह परिसरमा कन्टेनरको भीड बढ्दो क्रममा रहेको बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले बताए । ‘खाली कन्टेनरको संख्या बढ्दै जानु चिन्ताको विषय भएको छ,’ उनले भने, ‘सहजै बन्दरगाह परिसरमा आवागमन गर्ने अवस्था छैन, चारैतिर कन्टेनरको चाङ देखिन्छ ।’ बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीलाई कन्टेनरको आवागमको कामलार्ई व्यवस्थित गर्न भनिएको पनि उनले जनाए ।

यता प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्मा भने कन्टेनरको आवागमन सामान्य अवस्था झैं रहेकाले खाली कन्टेनर थुप्रिएको भन्न नमिल्ने दाबी गर्छन् । बन्दरगाहमा कोंकर, प्रिस्टिन, डीपी वर्ल्ड, हिन्द टर्मिनल्स, बक्स ट्रान्सलगायत कम्पनीले भारतको कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलवे र्‍याक ल्याउने गरेको शर्माको भनाइ छ ।

पाँच कम्पनीले पालैपालो गरी रेलवे र्‍याक ल्याउँदा झन्डै ७ सय खाली कन्टेनर नियमित रूपमै बन्दरगाह परिसरमा फर्किने पालो कुरेर बस्ने गरेको शर्माले जनाए । एउटा र्‍याकले एकपटकमा ९० वटा खाली कन्टेनर लैजान सक्ने भएकाले एकसाथ धेरै कन्टेनर फिर्ता जान नसक्ने उनले बताए ।

कतिपय आयातकर्ताले समयमै आफ्नो मालवाहक कन्टेनर नलैजाने प्रवृत्ति रहेकाले बन्दरगाहमा त्यस्ता कन्टेनरले पनि भीड बढाउने गरेको शर्माको भनाइ छ । बन्दरगाह परिसरमा मालवााहक कन्टेनर राख्दा पनि त्यसको पार्किङ शुल्क बुझाउनुपर्छ । एउटा कन्टेनरको पार्किङ शुल्क दैनिक ३ सय रुपैयाँ छ । तर आयातकर्ताले पार्किङ शुल्क तिरेर भए पनि आफ्नो कन्टेनर बन्दरगाहमै राख्छन् र आवश्यकताअनुसार कन्टेनर जाँचपास गराई लैजान्छन् ।

यार्डमा कन्टेनरको चाङ बन्दा कुनै आयातकर्ताले आफ्नो कन्टेनर लैजान चाहे उसको कन्टेनर चाङबाट झिक्न समस्या हुने गरेको शर्मा बताउँछन् । यसो हुँदा समय खेर जानुका साथै कन्टेनरको ह्यान्डलिङ लागत पनि बढन जाने उनले जनाए । यार्ड भरिएपछि दैनिकजसो आउने नयाँ कन्टेनरलाई व्यवस्थापन गर्न पनि सकस हुने गरेको शर्माको भनाइ छ । बन्दरगाहको क्षमता १ हजार ५ सय कन्टेनर मात्रै हो । यस्तो अवस्थामा यार्डको व्यवस्थापन गर्न गाह्रो हुने गरेको उनले बताए ।

प्रकाशित : भाद्र २८, २०८१ ०७:०१
×