कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

बाराको अर्नवा-नरही चोक सडक दुई वर्षदेखि अलपत्र 

भाद्र ११, २०८१
बाराको अर्नवा-नरही चोक सडक दुई वर्षदेखि अलपत्र 

बारा — अर्नवादेखि बेतौना गाउँ हुँदै नरही चोक जोडिने ५ किमी सडक निर्माण गर्न ठेक्का सम्झौता भएको दुई वर्ष वित्दा पनि बन्न सकेको छैन ।

महागढीमाई नगरपालिका-८ को अर्नवा चोक र करैयामाई गाउँपालिका ८ को नरही मुखलाल महतो चोकसम्म पर्ने यो सडक दक्षिणमा तराईमधेसको ‘लाइफलाइन’ रहेको पूर्व–पश्चिम हुलाकी मार्गमा जोडिएको छ ।

यस्तै उत्तरतर्फ भने व्यापारिक सहर वीरगन्ज–कलैया हुँदै रौतहटको कटहरिया–गरुडासम्म जोडिने सडकमा पर्छ । एक अर्का जिल्लासित जोडिएको लामो दुरीको यो दुवै सडकसित अर्नवा–नरही सडकको ‘लिंक’ छ । महागढीमाई ८ कै बेतौना र करैयामाई ८ मा नै पर्ने ईंटहर गाउँ हुँदै यो सडक गएको हो ।

निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो सडकमा कालोपत्रे, ढलान, कल्भर्ट, नाला निर्माणका लागि मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले योजना पारेर बजेट विनियोजन गरेको थियो । तर सडकमा अहिलेसम्म एक इन्च पनि कालोपत्रे र ढलान भएको छैन ।

निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनी शिवशक्ति इन्फा डेभलपर प्रालि हेटौंडा-४ का सञ्चालक निर्माण व्यवसायी भने सम्पर्कबिहीन छन् । ‘घर अगाडि नै रहेको कल्भर्ट र नाला लथालिङ छाडेको छ,’ महागढीमाई नगरपालिका ८ बेतौनाका वडाध्यक्ष ओहैब अंसारीले भने, ‘कालोपत्रे र ढलान त एक इन्च पनि भएको छैन ।'

चल्तीको सडकलाई त्यतिकै अलपत्र छाडेर गएको ठेकेदारलाई दिनरात ताकेदा गर्दा पनि नबनाइदिएको उनले बताए ।

सडकको उपभोक्तासमेत रहेका वडाध्यक्ष अंसारीकाअनुसार सडकमा बनाउनुपर्ने कल्भर्ट, गर्नुपर्ने कालोपत्रे, पुर्नुपर्ने माटो, गर्नुपर्ने ढलान, सब बेशको काम गर्दै नगरी ठेकेदार निर्माण स्थल आउन छाडेको उनको भनाइ छ । ढुंगाको थुप्रो त्यतिकै छाडिएको छ । कल्भर्टको माथि ढलान गरेर ‘एपरोच रोड’ (पहुँच सडक) नबनाउँदा कल्भर्टको साइडबाट सर्वसाधारणले जसोतसो आउजाउ गरिरहेका छन् ।

‘ठेकेदार ६ महिनादेखि यहाँ आउन छाडेका छन्,’ उनले भने, ‘फोन पनि उठाउँदैनन् ।’ सडक खनेर अलपत्र पारेपछि सर्वसाधारणलाई आउजाउ गर्न कठिनाईसँगै दुर्घटना हुने गरेको छ ।’ सडक भएर उत्तर नरही चोक र दक्षिण अर्नवा चोक (बजार) पुग्नको लागि यो सडक सहायकको रुपमा रहेको छ । दुवै सडकसित यसको लिंक छ ।

ठेकेदारको लापर्बाही, निर्माण गराउने कार्यालयको ताकेदा अभावसँगै निर्माण गराउने मन्त्रालयले बजेट दिन बन्द गरेपछि सडक अलपत्र परेको हो । २०७९ असार १२ मा ८ करोड ३८ लाख ६१ हजारमा ठेक्का सम्झौता भई असारको अन्तिम सातादेखि काम गर्ने सर्त भएपनि निर्माण कार्य सुरु गरेर लथालिङ पारेर छाडिएको हो ।

‘मन्त्रालयले कहिले थोरै बजेट, कहिले पठाउँदै नपठाउने भएपछि निर्माण पूरा भएको छैन,’ भौतिक पूर्वाधार कार्यालयअन्तर्गत सडकको साइट हेर्ने जिम्मा पाएका इन्जिनियर राजेश चौधरीले भने, ‘कार्यालयबाट गरिने ताकेदा गरेकै छौं । तर जति ताकेता गरेपनि न प्रदेश सरकारबाट बजेट आएको छ नत आएको बजेटमध्येबाट ठेकेदारले काम गरेको छ ।’ अरु सडकको बजेट आएको छ । तर यो सडकको बजेट नै दिएको छैन । ‘दिएको बजेटमध्ये ४० प्रतिशत जति काम भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ११, २०८१ १८:३६
x
×