कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

दुई वर्षअघि तयार भएको विद्युत् सवस्टेसन अझै सञ्चालनमा आएन 

भाद्र २७, २०८१
दुई वर्षअघि तयार भएको विद्युत् सवस्टेसन अझै सञ्चालनमा आएन 

सर्लाही — सर्लाहीको हरिपूर्वामा दुई वर्षअघि तयार भएको विद्युत सवस्टेसन अझै सञ्चालनमा आउन सकेको छैन । पोल गाड्न विवाद भएपछि सवस्टेसन सञ्चालनमा आउन नसकेको हो । 

हरिपूर्वा बजार क्षेत्र र ईश्वरपुरको श्रीनगर महारानी बजार क्षेत्रमा बिजुलीको पोल गाड्ने विषयमा लामो समयदेखि विवाद चल्दा दुई वर्षसम्म सवस्टेसन अलपत्र परेको छ ।

निर्माण भएको विद्युत् सवस्टेसन सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता समस्या खेप्न बाध्य छन् । यहाँ सदरमुकाम मलंगवाबाट बत्ती ल्याउनुपर्दा लामो प्रसारण लाइनका कारण छिन छिनमै बत्ती जाने, भोल्टेज नहुने तथा वर्षाको बेला दिनभर जसो विद्युत् अवरुद्ध हुने समस्या छ । हरिपूर्वा नगरपालिका–५ का मुकेश झाले सामान्य समस्या हुँदा घण्टौं विद्युत् अवरुद्ध हुने जस्ता समस्याले यहाँका उपभोक्ता आजित भएको दुःखेसो पोखे ।

‘छिनछिनमा विद्युत् जाने, सामान्य समस्या हुँदा घण्टौं बिजुली नआउने समस्याले यहाँका उपभोक्ता हैरान छन्,’ उनले भने, ‘सवस्टेसन सञ्चालनमा आउँदा आम उपभोक्ताले राहत पाउँथे ।’

पछिल्लो समय पोल गाड्ने ठाउँको विवाद समाधान गरेर सवस्टेसन सञ्चालनको तयारीमा जुटेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार पोल गाड्ने र तार तान्ने काम सकिएको छ । ‘अहिले ठेकेदारले दुई वर्षअघि लगाइएका मेसिनहरू परीक्षण गर्ने र बिग्रेको भए परिवर्तनको काम गरिरहेको छ,’ उनले भने, ‘दसैं तिहारको बीचमा हरिपूर्वाको सवस्टेसन सञ्चालनमा आउने तयारीमा जुटेका छौं ।’

हरिपूर्वास्थित सवस्टेसन सञ्चालनमा आएपछि जिल्लाको पूर्वी–दक्षिणी क्षेत्रमा पर्ने हरिपूर्वा तथा ईश्वरपुर नगरपालिका र पर्सा, ब्रहम्पुरी तथा चन्द्रनगर गाउँपालिकामा विद्युत् आपूर्ति नियमित हुने र भोल्टेजको समस्या पनि समाधान हुने प्राविधिकहरूले बताएका छन् । पूर्व–पश्चिम राजमार्गबाट श्रीनगर, वसन्तपुर हुँदै ३३ केभीको लाइन हरिपूर्वास्थित सवस्टेसनमा पुर्‍याइएको छ ।

प्रकाशित : भाद्र २७, २०८१ १२:२९
×