कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सिर्सिया सुक्खा बन्दरगाहमा २ हजार ८ सय कन्टेनर 

भाद्र २६, २०८१
सिर्सिया सुक्खा बन्दरगाहमा २ हजार ८ सय कन्टेनर 

पर्सा — आयातकर्ताले समयमा कन्टेनर नलग्दा तथा खाली कन्टेनर फिर्ता जान नसक्दा सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरको भीडभाड बढेको छ । हाल बन्दरगाह परिसरमा मालवाहक १ हजार ६ सय ५० र खाली १ हजार १ सय ५० गरी २ हजार ८ सय कन्टेनर रहेका छन् । 

बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले आयातकर्ताले समयमा नलग्ने र खाली कन्टेनर समयमा भारतीय बन्दरगाहहरुमा फिर्ता नजाने प्रवृत्तिले बन्दरगाह परिसरमा कन्टेनरको भीड बढ्दो क्रममा रहेको बताए ।

‘खाली कन्टेनरको संख्या बढ्दै जानु चिन्ताको विषय भएको छ,’ उनले भने, ‘सहजै बन्दरगाह परिसरमा आवागमन गर्ने अवस्था छैन, चारैतिर कन्टेनरको चाङ देखिन्छ ।’ बन्दरगाह सन्चालक कम्पनी प्रिस्टिन भ्यालीलाई कन्टेनरको आवागमनको कामलाई व्यवस्थित गर्न भनेको पनि उनले बताए ।

यता प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्मा भने कन्टेनरको आवागमन सामान्य अवस्थाझैँ रहेकाले खाली कन्टेनर थुप्रिएको भनी भन्न नमिल्ने जिकिर गरे । हाल यो बन्दरगाहमा कोंकर, प्रिष्टिन, डीपी वर्ल्ड, हिन्द टर्मिनल्स, बक्स ट्रान्स लगायतका कम्पनीले भारतको कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाहबाटबाट रेल्वे र्‍याक ल्याउने गरेको बताए ।

५ वटा कम्पनीले पालै पालो गरी रेल्वे र्‍याक ल्याउँदा झण्डै ७ सय खाली कन्टेनर नियमित रुपमै बन्दरगाह परिसरमा फर्किने पालो कुरेर बस्ने गरेको उनले बताए । एउटा र्‍याकले एक पटकमा ९० वटा खाली कन्टेनर लग्न सक्ने भएकाले एकै साथ धेरै कन्टेनर फिर्ता जान नसक्ने उनले बताए ।

कतिपय आयातकर्ताले समयमा आफ्नो मालवाहक कन्टेनर नलग्ने प्रवृत्ति रहेकाले बन्दरगाहमा त्यस्ता कन्टेनरले पनि भिडभाड बढाउने गरेको शर्मा बताउँछन् । बन्दरगाह परिसरमा मालावाहक कन्टेनर राख्दा पनि त्यसको पार्किङ्ग शुल्क बुझाउनु पर्छ ।

एउटा कन्टेनरको पार्किङ्ग शुल्क दैनिक ३ सय रुपैयाँ रहेको छ । तर आयातकर्ताहरु पार्किङ्ग शुल्क तिरेर भएपनि आफ्नो कन्टेनर बन्दरगाहमै राख्छन् र आवश्यकता अनुसार कन्टेनर जाँचपास गराई लग्छन् । यार्डमा कन्टेनरको चाङ बन्दा कुनै आयातकर्ताले आफ्नो कन्टेनर लग्न चाहे उसको कन्टेनर चाङबाट झिक्न निक्कै समस्या हुने गरेको शर्मा बताउँछन् ।

यसो हुँदा समय खेर जानुका साथै कन्टेनरको ह्यान्डलिङ्ग लागत पनि बढ्न जाने उनले बताए । यार्ड भरिएपछि दैनिक जसो आउने नयाँ कन्टेनरलाई व्यवस्थापन गर्न पनि सकस हुने गरेको उनले बताए । यो बन्दरगाहको क्षमता १ हजार ५ सय कन्टेनर मात्रै हो । यस्तो अवस्थामा यार्डको व्यवस्थापन गर्न गार्‍हो हुने गरेको उनले बताए ।

प्रकाशित : भाद्र २६, २०८१ २०:२५
×