कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीद्वारा जनप्रतिनिधिमाथि गालीगलौज, घर खानतलासी

भाद्र २७, २०८१

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा टापुको बस्तीमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनप्रतिनिधिहरुलाई गालीगलोज गर्दै घर खानतलासी गरेको छ । 

गत आइतबार दिउँसो भारतीय सीमा सुरक्षा बल (एसएसबी) जवानहरु र रतनपुरा थानाका दरोगा र भारतीय प्रहरीहरु डुंगा चढेर भंगालो पार गरी नेपाली भूमिमा प्रवेश गरेको हो । हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा चारैतिर वार कोशी नदीले घेरिएको टापु बस्ती हो । हरेक वर्ष कोशीको कटान हुने भएकोले टापुमा बस्ती सर्ने गरेको छ ।

भारतीय गाउँ छतौनी कोशीको बाढीका कारण कटान भएर बगेपछि भारतीय गाउँका स्थानीयहरु टापुमा रहेको नेपाली बस्तीमा आएर घर बनाएर बस्दै आएका छन् । नेपाली भूमिमा नयाँ बसाइएको बस्तीमा नेपाली र भारतीयहरुको बसोबास छ । सोही बस्तीमा भएको विवाद समाधानका लागि पुग्दा एसएसबी जवानहरु र दरोगा सहितका प्रहरीहरु आएर गालीगलौज गर्दै अभद्र व्यवहार गरेको हनुमाननगर कंकालिनी नगरपालिका १३ का वडाध्यक्ष कुशेश्वर यादवले बताए ।

'नेपाली भूमिमा रहेको बस्तीमा भएको विवाद हामी स्थानीय रूपमा बसेर मिलाइरहेका थियौं,' वडाध्यक्ष यादवले भने, 'भारतीय सुरक्षाकर्मीहरु आएर गालीगलौज गर्दै हातपात गर्न थाले ।'

'ये हमारा भारतीय भूमि है यहाँ नेपाली वडाध्यक्ष क्यो आया' भन्दै नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीहरुले दादागिरी देखाए,' वडाध्यक्ष यादवले भने ।

आइतबारपछि पटक-पटक आएर भारतीय सुरक्षाकर्मीहरुले स्थानीयलाई उक्त बस्ती भारतीय भूमिमा रहेको भन्दै धम्काएर जाने गरेको वडाध्यक्ष यादवले बताए । उनका अनुसार नेपाली भूमि कब्जा गर्ने नियतले भारतीय सुरक्षाकर्मीहरु जबरजस्ती गरिरहेको र आफूले सशस्त्र प्रहरीलाई जानकारी गराइसकिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीले नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीहरु आएर जबरजस्ती गर्न खोज्नु निन्दनीय भएको बताए । नगर प्रमुख माझीले आउँदो शनिबार कोशी पार गरेर आफूहरु टापुको उक्त बस्तीमा पुगेर थप जानकारी लिने बताए ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ का सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी आएर गालीगलौज गरेको कुरा वडाध्यक्षले जानकारी गराएको बताए । उनले कोशीको भंगालोमा अहिले पानीको अत्यधिक बहाव रहेका कारण तत्कालै टापुतिर जाने अवस्था नरहेको भए पनि आवश्यक व्यवस्थापन गरेर उक्त बस्तीमा सुरक्षाकर्मी पठाएर आवश्यक जानकारी लिइने बताए ।

प्रकाशित : भाद्र २७, २०८१ १९:४१
×