कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन

भाद्र ९, २०८१
मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन गरेका छन् । रातका बेला चिकित्सक तथा स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले आइतबार साँझ अस्पताल अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशालालगायत निरीक्षण गरेका छन् । निरीक्षणक्रममा उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए, नआएका विषयमा खोजीनीति गरेका छन् । उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरे ।

निरीक्षणक्रममा मुख्यमन्त्री सिंहले अस्पतालका सेवा व्यवस्थित तथा प्रभावकारी बनाउन त्यहाँ उपलब्ध अधिकारीहरूलाई निर्देशन दिए । उनले अस्पतालमा सरसफाइको थप राम्रो व्यवस्थापन गरिनुपर्ने निर्देशनसमेत दिए ।

निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले दिन घर्केपछि अस्पतालमा डाक्टर र नर्स नहुने गुनासो आएपछि आफूले अस्पताल अनुगमन गरेको बताए । उनले डाक्टर र नर्सले हाजिरी गरेर घरमा नबसी निर्धारित काम जिम्मेवार भएर पूरा समय नियमित गर्नुपर्ने उल्लेख गरे ।

उनले प्रादेशिक अस्पताल जलेश्वरमा गुणस्तरीय स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउन सेवा विस्तार गरिने जानकारी दिए ।

पत्रकारहरूको एक प्रश्नको उत्तरमा मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पतालमा चिकित्सक अनकल नभएर पूरा समय ड्युटीमा खटिनुपर्ने व्यवस्था गरिने पनि बताए ।

प्रकाशित : भाद्र ९, २०८१ २२:२६
x
×