कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनको टप १३ मा सन्तोष राई

भाद्र ११, २०८१
वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनको टप १३ मा सन्तोष राई

लन्डन — पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिस्पर्धा गरेका खेलाडी सन्तोष राई टप १३ मा आउन सफल भएका छन् । राईले गत २५ अगष्टमा अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसीप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिस्पर्धा गरेका थिए ।

३ किमी स्वीमिङ, ११४ किमी बाइक राइड (साइक्लिनिङ) र ३० किमी रनिङ समावेश ट्रायथलन प्रतियोगितामा राई १९ प्रतिस्पर्धी मध्ये १३ औं स्थानमा आउन सफल भएका हुन् ।

उक्त प्रतिस्पर्धामा राईसहित अमेरिका बस्ने सन्तोष कर्माचार्यले नेपालबाट प्रतिनिधित्व गरेका थिए । नेपाल ट्रायथलन एसोसिएसनले उक्त प्रतिस्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गराउन सन्तोषद्वयलाई छनोट गरेको थियो । उपकरण समस्या, अन्य लजिस्टिक बाधा लगायत धेरै चुनौती सामना गर्दा पनि राई र कर्माचार्यले खेलप्रति समर्पण देखाउँदै दौड सफलतापूर्वक पूरा गरेका थिए ।

‘अन्तर्राष्ट्रिय ट्रायथलन प्रतियोगितामा यो उपलब्धि नेपालको खेलकुद र मेरा लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हो’, राईले भने ।

प्रतियोगिताका बेला साउथ एसिया ट्रायथलन स्वर्ण पदक विजेता सोनी गुरुङ समेत उपस्थित भएर नेपाली खेलाडीलाई हौसला प्रदान गरेकी थिइन् ।

सन्तोष राईलाई एनआरएनए यूके, एनबीसी यूके, फिजियोथेरापिस्ट सरोज गुरुङ एवं नेपाल ट्रायथलनका अध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले दौड पूरा गर्न आवश्यक सहयोग गरेका थिए ।

सन् २००९ देखि दौड्न थालेका सन्तोष राईले लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फूल म्याराथन पुरा गर्ने उनी पहिलो नेपाली हुन् ।

दुई वर्षमा विश्वप्रसिद्ध म्याराथन सम्पन्न गरेका राई नेपाल रन यूकेका संस्थापक हुन् ।

ट्रायथलन मल्टिस्पोर्ट वर्ल्ड च्याम्पियनसीप टाउन्सभिल १२ दिने इभेन्ट्स थियो जसमा उमेर समूह, पारा ट्रायथलीट, जुनियर, २३ वर्षमुनी र एलिटहरुसहित पाँच विभिन्न स्तरका खेलाडीबीच १९ वटा विश्व च्याम्पियनसीप दौड भए ।

यस प्रतिस्पर्धाका लागि विश्वभरका ४० बढी देशको प्रतिनिधित्व गर्ने ३ हजार प्रतियोगी सहभागी भएका थिए ।

प्रकाशित : भाद्र ११, २०८१ १७:५७
x
×