कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

भाद्र १४, २०८१

Highlights

  • दूतावास स्थापना नभएको, र यसअघि सेवा दिँदै आएको अवैतनिक महावाणिज्यदूतको कार्यालय समेत बन्द भएका कारण अस्थायी बसोबास अनुमतिपत्र लिन, पारिवारिक पुनः मिलन लगायतका कामका लागि कागजात प्रमाणीकरणमा सास्ती व्यहोर्नुपरेको गुनासो

काठमाडौँ — पोर्चुगलमा रहेका नेपालीहरूले दूतावास कार्यालय नहुँदा त्यहाँ रहेका नेपालीहरूलाई सेवा लिन कठिन भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । पोर्चुगलमा अहिलेसम्म दूतावास स्थापना भएको छैन ।

त्यहाँ रहेको नेपाल सरकारको एक मात्र आधिकारिक प्रतिनिधि संस्था अवैतनिक महावाणिज्यदूतको कार्यालय समेत यही वर्षबाट बन्द भएपछि पोर्चुगलमा अस्थायी बसोबास अनुमतिपत्र लिन, पारिवारिक पुनः मिलन लगायतका कामका लागि नेपालबाट झिकाउनु पर्ने कागजात प्रमाणीकरणमा अत्यन्तै सास्ती व्यहोर्नुपरेको भन्दै दूतावास स्थापना गरिदिन माग गरेका छन् ।

दूतावास स्थापना नभए अवैतनिक महावाणिज्यदूतको कार्यालयमात्रै भएपनि स्थापना गरिदिन माग गरेका छन् । पोर्चुगलस्थित नेपाल आदिवासी जनजाति महासंघ, गैरआवासीय नेपाली संघ, मगर संघ, तमु समाज, शेर्पा किदुङ, तामाङ समाज, किरात याक्थुङ चुम्लुङ, नेपाल जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मञ्च, नेपाली समाज, सुदूर पश्चिम समाज लगायत संघसंस्थाहरूले शुक्रबार संयुक्तरुपमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाउँदै दूतावास स्थापना नहुञ्जेलका लागि पोर्चुगलको लिस्वनमा सम्पर्क कार्यालय स्थापना गरिदिन माग गरेका छन् ।

यसअघि फ्रान्सस्थित नेपाली दूतावासले अवैतनिक महावाणिज्यदूतको कार्यालय राखेर सेवा दिँदै आएको थियो । दूतावास नहुँदा कागजात प्रमाणीकरण सेवा लिन मोटो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।

'पचास हजार भन्दा धेरै नेपालीहरु बसोबास गरिरहेको पोर्तुगलमा दैनिक एकसय हाराहारी नेपालीहरुले नेपाल सरकारको तर्फबाट प्रत्यक्ष सेवा उपभोगको आवश्यकता परिरहेको हुन्छ । तर विडम्बना पोर्तुगलको लागि नवनियुक्त महामहिम राजदूतज्यूको पदभार ग्रहण भैनसकेको अवस्थामा अविवेकपुर्ण ढंगले यहाँ स्थित अवैतनिक महावाणिज्यदूतको सेवा बन्द पछि सिर्जित शून्यताको कारणले विगतमा पन्ध्र यूरो भन्दा कम खर्चमा नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्दै आएका नेपालीहरूले हाल विना कसुर दुई सय यूरो भन्दा बढी व्ययभार बोक्नु परेको अत्यन्तै दर्दनाक पीडादायी अवस्था छ । यो एउटा प्रतिनिधिमूलक दृष्टान्त मात्र हो,' ज्ञापनपत्रमा भनिएको छ, 'पोर्चुगलको मासिक आय अरु यूरोप राष्ट्रहरुको दाँजोमा एकदमै न्यून रहेको र धेरै जसो नेपालीहरुले न्यून वेतनमा ज्यालादारी (अधिकांश अदक्ष कामदार) काम मात्रै गर्दै आएको हुँदा नेपाली कागजात प्रमाणीकरणमा देखिएको अनावश्यक धेरै शुल्क र झन्झटिलो प्रक्रिया यथाशक्य चाँडो सम्बोधन गर्नु पर्ने देखिएको छ ।'

देशमा रोजगारीको सम्भावना नदेखेपछि कमाउन पोर्चुगल पुगेका नेपालीहरू कागजात प्रमाणीकरणकै लागि मोटो रकम खर्च गर्नुपर्ने बाध्यताले मानसिक समस्याबाट गुज्रिनुपर्ने अवस्था बनिरहेको उनीहरूको भनाइ छ ।

'अहिलेको अवस्थामा पोर्तुगलको मामिला हेर्ने पेरिस राजदूतावास, फ्रान्सबाट जारी भएको पोर्तुगलमा रहेका नेपालीहरुलाई प्रवाह गरिने सेवा शुल्क र पोर्तुगलको मासिक आय बीच गहिरो खाडल रहेकोले पीडा माथि पीडा थपिएको छ,' उनीहरूले ज्ञापनपत्रमार्फत् भनेका छन्, 'यहाँका नेपालीहरुका लागि पेरिस राजदूतावास, फ्रान्सले शुल्क सम्बन्धी आफ्नो निर्णयमा पुनःविचार गरी यहाँको आय आर्जन सुहाउँदो शुल्क तोकि पोर्तुगलको लिस्वनमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रवाह गरोस् भनि जोडदार माग गर्दछौं ।'

प्रकाशित : भाद्र १४, २०८१ २१:२१
x
×