कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मुना पाण्डेको हत्या आरोपमा एक पक्राउ

भाद्र १४, २०८१
मुना पाण्डेको हत्या आरोपमा एक पक्राउ

Highlights

  • प्रारम्भिक रूपमा हेर्दा हत्याको कारण लुटपाट देखिएको छ, शाह र पाण्डेबीच पहिले चिनजान रहेको कुनै रेकर्ड फेला परेको छैन

काठमाडौँ — अमेरिकी राज्य टेक्सासको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली प्रहार गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् । प्रहरीले बुधबार बिहान संदिग्ध व्यक्तिका रुपमा तस्बिर सार्वजनिक गरेको केही घण्टामै शाह पक्राउ परेका हुन् ।

सीसीटीभी फुटेजमा उनी २४ अगस्ट शनिबार राति ९:४८ बजे मुनाको अपार्टमेन्टबाट बाहिरिँदै गरेको देखिएका थिए । शाहलाई स्थानीय समयअनुसार बुधबार राति ८ बजेपछि सडकमा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तस्बिर सार्वजनिक गरेलगत्तै सम्भावित हत्याराको हुलियालाई लिएर धेरै फोन आएपछि ह्युस्टन प्रहरीले शाहलाई पक्राउ गरेको हो । उनलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

‘गैरकानुनी हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा ह्यारिस काउन्टीका जिल्ला अधिवक्ताले अदालतमा मुद्दा दर्ता गरेका छन्, प्रारम्भिक रूपमा हेर्दा हत्याको कारण लुटपाट देखिएको छ, शाह र पाण्डेबीच पहिले चिनजान रहेको कुनै रेकर्ड फेला परेको छैन,’ न्युयोर्कबाट सञ्चालन हुने नेप्योर्क डट कमका सम्पादक किशोर पन्थीले कान्तिपुरसँग भने ।

हत्या अभियोगमा सेप्टेम्बर ३ र गैरकानुनी हतियार राखेको अभियोगमा सेप्टेम्बर ५ मा उनलाई अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । भेराइजन मोबाइल स्टोरमा काम सकेर राति अपार्टमेन्ट फर्किएपछि मुनाको हत्या भएको देखिन्छ । सोमबार साँझ मुना आफ्नै अपार्टमेन्टमा धेरै गोली लागेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले उनलाई मृत अवस्थामा भेटेको थियो ।

भोजपुरकी मुना स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत थिइन् ।

मुना सुरुमा नेपालबाट गएकी साथीसँगै बसेकी थिइन् । केही समययता भने एक्लै अपार्टमेन्टमा बस्थिन् । हाल काठमाडौंको काँडाघारीमा बसोबास गरिरहेकी मुनाकी आमा अनिता पाण्डेका अनुसार छोरीको हत्याबारे उनले मंगलबार बिहान खबर पाएकी थिइन् ।

प्रकाशित : भाद्र १४, २०८१ ००:०६
x
×