कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सुरक्षित आप्रवासन कार्यक्रमले वैदेशिक रोजगारीमा जानेलाई सहयोग

भाद्र ११, २०८१
सुरक्षित आप्रवासन कार्यक्रमले वैदेशिक रोजगारीमा जानेलाई सहयोग

Highlights

  • २०८० साउनदेखि २०८१ असारसम्म पाँचथर जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ६ जना को ज्यान गएको छ । जसमध्ये ३ जनाका परिवारले सामी कार्यक्रमकै सहजीकरणमा बीमा र क्षतिपूर्ति रकम भुक्तानी पाएका छन् । बाँकी तीनजनाको भुक्तानीको प्रक्रियामा छ ।

(पाँचथर) — घरमा अपांगता भएका दाजु, वृद्व अवस्थाका आमाबुबा प्लस टु पढ्दै गरेका दुई जना चेली । पाँचथरको हिलिहाङ–७ का इन्द्रबाहदुर तामाङको टाउकोमा उमेरसँगै जिम्वेवारी थपिँदै गयो । आर्थिक अवस्था कमजोरी भएका कारण गरिबीबाट छुटकारा लिन कोरिया जाने निर्णय लिए । भारपादेखि फिदिमसम्म दैनिक २ घण्टा हिँडेर भाषा सिके, परिक्षा दिए, नाम पनि निस्कियो, सबै प्रक्रिया पुरा गरेपछि भिसा लाग्यो । २०७९ साल फागुन ३ गते सुखी र खुशी भविष्यको सपना सँगाल्दै त्यसतर्फ प्रस्थान गरे ।

उनको काम सिसा बनाउने कम्पनीमा थियो । कोरिया पुगेर काममा लागेपछि उनले दैनिक जसो घरमा फोन सम्पर्क गर्थे । चार महिनाको पैसा पनि पठाइसकेका थिए । उनले कोरिया गएर पैसा पठाउन थालेपछि घर परिवारमा खुशीको छाउन थालेको थियो । २०८० साल भदौ २५ गते फ्याक्ट्रीमा काम गर्दा गर्दै क्लिपमा च्यापिएर उनको ज्यान गयो । परिवारका सदस्यले १६ घण्टा पछि मात्रै घट्नाबारे थाहा पाए । सुन्नासाथ तामाङ परिवारमा बज्रपात पर्‍यो ।

‘दिन लागेपछि कस्को के नै पो लाग्दो रहेछ र ? सम्हालिा नै पर्ने थियो । सम्हालिने कोशिस गर्‍यौं,’ इन्द्रबहादुरकी आमा दिलकुमारीले भनिन् । कोरियामा रहेको लास घरसम्म ल्याउनु कसरी तामाङ परिवारका सदस्यले सोच्न सकेनन् । लास ल्याउनै पर्ने थियो । त्यसपछि संकार अनुसार काज किरिया गर्नु पर्ने थियो । तर कसरी ? कस्लाई हार गुहार गर्ने, कहाँ गएर निवेदन दिने केही थाहा थिएन । थाहा होस् पनि कसरी परिवारको टाठो बाठो उनै इन्द्रबहादुर थिए ।

पीडा र वेदनामा छट्पटाइरहेका बखत स्थानीय अनिश तामाङको सहयोगमा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पाँचथरमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा पुगे । त्यहाँ रहेका परामर्शदाताले वैदेशिक रोजगार बोर्ड हुँदै सिओलस्थित नेपाली दूतावासमा पत्राचार गर्दै शव झिकाउने प्रक्रिया सुरु गरे । सहजिकरण सँगै इन्द्रबहादुरको शव २०८० साल असोज १२ गते घर आइपुग्यो । अन्त्येष्टि र काज किरिया भयो । बीमा र क्षतिपूर्ती वापतको रकम कहाँबाट कसरी आँउछ ? के के कागजात जुटाउनु पर्छ ? यी र यस्ता काममा पनि सामीका कर्मचारी नै लागे ।

‘मगाएका कागजात पेश गर्दै जाँदा वैदेशिक रोजगार बोर्डबाट ७ लाख, म्यादी बीमा बापत १४ लाख र सम्बन्धित कम्पनीबाट १ करोड ६० लाख गरी कुल १ करोड ८० लाख रुपैैयाँ रकम इन्द्रका आमाबुवाको खातामा आयो । ‘यदी सामी कार्यक्रम अन्तर्गतको आप्रवासन शाखा जिल्लामा नभइदिएको भए बीमा र क्षतिपूर्ति रकमको मेलोमेसो केही बुझ्ने रहेनछौं,’ दिलकुमारीले थपिन् ।

इन्द्रबहादुरका ५० वर्षीय पिता कर्णबहादुर कान सुन्दैनन् भने २५ वर्षीय दाजु नरबहादुर उठबस गर्नै सक्दैनन् । उनलाई खुवाउन सुताउन र बसाउन परिवारका सदस्यको सहारा अनिवार्य हुन्छ । ‘तामाङ परिवारका धरोहर इन्द्रबहादुर कोरियामै अस्ताएपछि बेसहारा जस्तै बनेको उनको परिवारलाई राहत र क्षतिपूर्ती सँगै बीमा रकम प्राप्त गर्न सामी कार्यक्रम सहयोगी सावित भयो,’ घट्नापछि उक्त परिवारलाई निरन्तर सहयोग गर्दै आएका छिमेकी अनिष तामाङले भने ।

२०८० साउनदेखि २०८१ असारसम्म पाँचथर जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ६ जना को ज्यान गएको छ । जसमध्ये ३ जनाका परिवारले सामी कार्यक्रमकै सहजिकरणमा बीमा र क्षतिपूर्ति रकम भुक्तानी पाएका छन् । बाँकी तीनजनाको भुक्तानीको प्रक्रियामा छ ।

पाँचथरकै फाल्गुनन्द गाउँपालिका २ का भवानी नेम्वाङ र सञ्जय लिम्बू एक वर्ष अघि वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत दुबई पुगे । काममा पनि लागे तर कम्पनीले सम्झौता गरे अनुसारको तलब दिएन । त्यसपछि नेपाल फर्किर्र्एर सम्बन्धित कम्पनीमा समस्या राखे । उनीहरुलाई पुनः कतार पठाइदियो । त्यहाँ पनि भनेजस्तो काम र दाम पाएनन् । खान सुत्नसम्म दिइएन ।

म्यानपावरले दोस्रो पटक पनि झुक्यायो । ७–७ दिन जेल बसेर नेपाल फर्किए । वैदेशिक रोजगारीका क्रममा ठगिएका नागरिकलाई पनि सामी कार्यक्रमले सहयोग गर्छ भन्ने थाहा पाएपछि उनीहरु जिल्ला प्रशासन कार्यालय पाँचथरमा रहेको आप्रवासी स्रोत केन्द्र पुगे र गुनासो गरे ।

कार्यक्रमले उनीहरुलाई विदेश पठाउने कम्पनीविरुद्व ठगी मुद्दा चलाइदियो । अन्ततः उनीहरुले विदेश जाने क्रममा ठगिएको कारण एक लाख ५० हजार रुपैयाँ फिर्ता पाए । यो वर्ष भवानी र सञ्जयको जस्तै पाँचथर जिल्लाबाट विभिन्न मुलुक पुगेका १८ जना नागरिक ठगीमा परेको उजुरी दर्ता भएका छन् । सामी कार्यक्रमकै सहयोगमा ७ जनाले क्षतिपूर्ति पाइसकेका छन् भने बाँकी ११ वटा प्रक्रियामा छन् ।

विभिन्न मुलुकमा पुगेर अलपत्र परेका २ जनालाई सम्बन्धित मुलुकको दूतावाससँग समन्वय गरेर घर फर्काइएको कार्यक्रम संयोजक क्षोमाया तामाङले बताइन् । कार्यक्रमले यो वर्ष मात्रै जिल्लाबाट राहदानी बनाएर विदेशिन लागेका २३ जनालाई सीप विकास केन्द्रमा पठाएर सेटिङ, कार्पेन्टर, गार्मेन्ट, स्काफ होल्डर र हाउस किपिङ जस्ता तालिम दिइएको छ । सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा गएका नागरिक र तिनका परिवारका सदस्यलाई सिपयुक्त जनशत्ति, न्यायमा पहुाचसूचनामा पहुाच, वित्तिय साक्षरता र मनोसामाजिक परामर्शसहित पाँचवटा विधामा सहयोग गर्छ ।

वैदेशिक रोजगारीमा गएका परिवारका सदस्य सामाजिक लागतसागै आनीवानीमा परिवर्तन गर्न, बचत गर्ने बानीको बिकास गर्न, बचतलाइ उत्पादनमुलक काममा लगाउन र आर्थिक दृष्टिकोणले मितव्ययि बनाउन वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई २१ हप्ता हप्ताको वित्तिय साक्षरता तालिम दिन्छ । विभिन्न मितिमा २१ हप्ताको वित्तीय साक्षरता तालिम लिइसकेकालाई व्यवसायमा जोड्न तालिम पनि दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा राहदानी वनाउने वित्तिकै परामर्शकर्ता मार्फत सुरक्षित वैदेशिक रोजगारीका लागि अपनाउनु पर्ने विधिबारे सुचना प्रदान गरिन्छ । यो वर्ष मात्रै फिदिम,फालेलुङ , फाल्गुनन्द गाउँपालिकाका १ हजार ६ सय ४ जनालाई वित्तिय साक्षरता र ३ सय १६ जनालाई मनोसामाजिक परामर्श दिइएको छ ।

कार्यक्रम मार्फत फिदिम नगरपालिकाबाट वैदेशिक रोजगारीमा गएका परिवारका १६ जना महिलालाई ढाका कपडा र सिलाम साक्मा बनाउने तालिम दियो । सहभागीलाई ५० प्रतिसत लागत साझेदारीमा ढाका बुन्ने तान पनि कार्यक्रम मार्फत उपलव्ध गराइयो । तालिममा सहभागी भएका महिला हिजोआज घर घरमा तान राखेर धमाधम ढाकाका सामग्री उत्पादन गरिरहेका छन् ।

जसले सिप विकाससँगै आयआर्जन गरेर आत्मनिर्भर बन्न प्रेरित गरेको सहभागीमध्येकी कौशल्या मगरले बताइन् । पाँचथरबाट बैदेशिक रोजगारीमा गएका परिवारका ४ सय जना सदस्यले २१ हप्ताको वित्तिय साक्षरता सम्बन्धि तालिम लिएका छन् । तालिममा विदेशबाट पठाएको रकम कसरी वचत र वृद्वी गर्ने, लेखा प्रणाली कसरी व्यवस्थित गर्ने र वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई आर्थिक रुपमा कसरी मितव्ययी बन्ने भन्ने ज्ञान र सीप हस्तान्तरण गरिएको छ । जुन व्यवहारिक दृष्टिकोणबाट अत्यन्तै उपयोगी सावित भएको अर्की सहभागी सपना लिम्बूको टिप्पणी छ ।

सामी स्विस सरकारको सहयोगमा सञ्चालित कार्यक्रम हो । जसले संघीय, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गर्दै वैदेशिक रोजगारीका मुद्दा सहजिकरण गर्न भूमिका खेल्छ । सामी ३८ जिल्लाका १५६ स्थानिय तहमा सञ्चालन भइरहेको छ । सामी कार्यक्रममार्फत श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा गई श्रम अवधि भित्रै विदेशमा ज्यान गुमाएका नागरिकका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराइँदै आएको छ ।

जसमा कक्षा ८ सम्म अध्ययन गर्ने, १८ वर्ष उमेरसम्मकालाई वार्षिक जनही १२ हजार र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्नेलाई जनही १६ हजार रुपैयाँका दरले छात्रवृत्ती उपलव्ध गराइन्छ । कार्यक्रममार्फत यो वर्षसम्म छात्रवृत्ती लिने विद्यार्थीको संख्या ५३ छ ।

वैदेशिक रोजगारीका लागि गएका युवाहरु विदेशमै ज्यान गुमाउने, तोकिएको तलव सुविधा नपाउने, दुःख गरेर कमाएको पैसा परिवारका सदस्यले सदुपयोग नगरिदिने, श्रम गन्तव्यमै लुटिने, ठगिने आदी समस्या छन जसको सहजिकरणमा सामीले खेलेको भूमिका प्रभावकारी बनेको पाँचथरका प्रमूख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला टिप्पणी गर्छन् ।

प्रकाशित : भाद्र ११, २०८१ १८:४०
x
×