कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कोशी सरकारमा कांग्रेस : नयाँ अनुहारलाई मौका

भाद्र २८, २०८१
कोशी सरकारमा कांग्रेस : नयाँ अनुहारलाई मौका

Highlights

  • तीन मन्त्री र एक राज्यमन्त्रीले थपिए पनि मन्त्रिपरिषद् अझै अपूर्ण, कांग्रेसको कोइराला समूहका लागि छुट्याइएको स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन

विराटनगर — करिव डेढ महिना लामो कसरतपछि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी बनेको छ । तीन मन्त्री र एक राज्यमन्त्रीसहित काङ्ग्रेस शुक्रबार सरकारमा सहभागी भएको हो । गुटगत समस्याका कारण कांग्रेस  ढिलो गरी सरकारमा सामेल भएको हो । यद्यपि कांग्रेसभित्रको गुटगत तिक्तता भने कायमै देखिएको छ ।

शुक्रबार संस्थापन र सिटौला पक्षले मात्रै सरकारमा भाग लिएको छ । कोशीको राजनीतिमा राम्रो प्रभाव राख्ने शेखर कोइराला गुटबाट भने अझै मन्त्रीहरुको टुंगो लागेको छैन ।

'कोइराला पक्षले दुई वटा मन्त्रालय माग गरेका छन्,' कांग्रेस कोशीका एक नेताले भने, 'दुई मन्त्री नपाएका कारण कोइराला समूह सरकारमा नआएका हुन् ।' शेखर समुहले दुई मन्त्रीको माग गरेको थियो । तर, उसलाई दुई मन्त्रालय दिन अब मन्त्रालय नै फुटाउनु पर्ने देखिन्छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शेखर समूहलाई खुसी पार्ने नाममा मन्त्रालय फुटाउने पक्षमा छैनन् । कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले शेखर कोइराला समुह पनि चाँडै सरकारमा सामेल हुने दावी गरे।

यसअघि एमाले-कांग्रेस शीर्ष नेतृत्वबीच संस्थापनलाई दुई मन्त्री तथा सिटौला र कोइराला समुहलाई एक /एक मन्त्री र एक/एक राज्यमन्त्रीको भागबन्डा भएको थियो । कोइरालाले दुई वटै फुल मन्त्री खोजेपछि यो समूहविनै कांग्रेस शुक्रबार एमाले नेतृत्वको सरकारमा सामेल भएको हो । शुक्रबार शपथ लिएका चारै मन्त्री नयाँ अनुहार हुन् ।

कांग्रेस कोशी प्रदेश महामन्त्री तथा पूर्व प्रमुख सचेतक भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको खोटाङका राई सिटौला समुहका हुन् । खोटाङ १(२) बाट निर्वाचित उनी पहिलो पटक मन्त्री बनेका हुन् । राईले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हाल्ने छन् ।

संस्थापन पक्षबाट ताप्लेजुङका सांसद खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सोही समुहबाट सुनसरीका सांसद सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् । हाङगाम ताप्लेजुङ १(२) र मन्डल ४(१) बाट निर्वाचित सांसद हुन् ।

सिटौला समूहकै झापाका भुमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । उनी झापा ३ (१) का निर्वाचित सांसद हुन् । माओवादी -एमाले बीचको केन्द्रीय सत्ता समीकरण बदलिएपछि एमाले -कांग्रेसबीचको अचानकको सत्ता साझेदारीपछि कोशीमा माओवादी केन्द्रले एमालेसँगको साथ छाडेको थियो गत साउन १२ मा। त्यसयता शुक्रबार मात्रै एमालेले कांग्रेसको साथ पाएको हो ।

सरकारमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री सामेल भएपनि सरकार अझै पूर्णता भने पाएको छैन। स्वास्थ्य मन्त्रालयले अझै मन्त्री पाउन सकेको छैन। उक्त मन्त्रालय मुख्यमन्त्री कार्कीकै मातहतमा छ। ९ वटा मन्त्रालय रहेको कोशीमा मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक राज्यमन्त्री एमालेको भागमा छ ।

प्रकाशित : भाद्र २८, २०८१ १७:३५
×