कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

इटहरीमा गुड्न थाल्यो विद्युतीय सिटी बस

आश्विन २, २०८१
इटहरीमा गुड्न थाल्यो विद्युतीय सिटी बस

इटहरी — इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई नगरभित्रै सहुलियत विद्युतीय सिटी बस सेवा सुरु गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बुधबारदेखि नगर क्षेत्रभित्र ४ वटा विद्युतीय सिटी बसको शुभारम्भ गरे । बुधबार र बिहीबार भने सर्वसाधारणले निःशुल्क बस चढ्न पाउने छन् । शुक्रबारदेखि सहुलियतमा यात्रु चढाइने नगर प्रमुख पौडेलले जनाए ।

बिहान ७ देखि ११ र दिउँसो २ देखि साँझ ७ बजेसम्म बस सञ्चालन गरिने र बस चढेबापत २० रुपैयाँ भाडा लिइने छ । ‘न्यून शूल्क तिरेपछि यात्रुलाई नगरभित्रकै गन्तव्यसम्म पुर्याइने छ’, नगर प्रमुख पौडेलले भने,‘विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखि हुनेछ ।’

खासगरी नगरकै ग्रामीण भेगका सर्वसाधारणलाई सहरसम्म जोड्ने उद्देश्य राखेर विद्युतीय बस सेवा सुरु गरिएको हो । सिटी बस सञ्चालन गर्ने पहिलो स्थानीय सरकार भएको दाबी नगर प्रमुख पौडेलको छ । बस अपाङ्गमैत्री पनि छ ।

उपमहानगरले नेसनल फायर सेफ प्रालिसँगको सम्झौतामा ४ वटा नगर बस खरिद गरिएको हो । करिब ६ करोड ३६ लाख ८६ हजार रुपैयाँ खर्चिएर बस ल्याइएको हो ।

प्रकाशित : आश्विन २, २०८१ ०९:४३
x
×