कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

डिग्री पास गरेपछि राजनीति, राजनीतिमा टिक्न भेडा पालन

आश्विन २, २०८१
डिग्री पास गरेपछि राजनीति, राजनीतिमा टिक्न भेडा पालन

खोटाङ — केपिलासगढी गाउँपालिका–१ फेदीका ३९ वर्षीय लक्ष्मण राईलाई पढाइ सकेर राजनीति गराैंला भन्ने लागेको थियो । तर, उनको जीवनमा त्यस्तो भएन । जब उनले २०७५ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरे, त्यसपछि उनी भेडा पालनतिर होमिएका हुन् ।

राजनीति गर्नका लागि त्यस विषयमा ज्ञान हासिल गर्न आफूले राजनीतिशास्त्र पढेको उनी बताउँछन् । ‘धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातकोत्तरसम्मको पढाइ सकेर गाउँ फर्किएपछि २०७७ सालबाट भेडा गोठाला जान सुरु गरेको हुँ,’ उनले भने, ‘राजनीतिमा टिक्न व्यवसाय गरौं भन्ने लागेर भेडा पालन सुरु गरें । अहिले त यतैतिर रमाउन थालेको छु ।’

अहिले उनी पाँच सय भेडाको रेखदेखमा दिन बिताउँछन् । ‘अन्तरे (छ भाइमध्ये पाँचौं) भाइसँग मिलेर भेडा पालन सुरु गरिएको हो,’ उनले भने, ‘सुरुमा २० लाख ऋण लिएर १ सय ९० भेडा किनियो, अहिले बढेर पाँच सय पुगेको छ ।’ उनका अनुसार पाठा, घिउ, ऊन लगायत वार्षिक १५–२० लाख रुपैयाँ जति आम्दानी हुन्छ । सबै कटाएर वार्षिक पाँच–छ लाख रुपैयाँ बचत हुने उनी सुनाउँछन् ।

राजनीतिमा उनको लगाव नै नभएको होइन । तर, परिस्थितिले भेडा गोठालो बनाएको उनको भनाइ छ । ‘२०७९ सालको स्थानीय चुनावमा माओवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेको थिएँ, हारेँ,’ उनले भने, ‘त्यसपछि लगभग भेडा गोठालोतिरै समय बिताउँदैछु ।’

तर उनको राजनीति गर्ने धोको भने अझै मरिसकेको छैन । राजनीतिका लागि पैसा आवश्यक भएकाले भेडा पालन सुरु गरेको उनी बताउँछन् । ‘पछिल्लो अवधिमा पैसाबिनाको राजनीति नहुने भयो,’ उनले भने, ‘त्यही भएर यतातिर लागेको हुँ ।’

यसका साथै पढेलेखेकाहरू गाउँमा बसेर श्रम नगर्ने भएकाले त्यसलाई चिर्न पनि आफू भेडा पालनमा लागेको उनले सुनाए । ‘पहिलो कुरा त पढेलेखेकाहरू गाउँ बस्दैनन्, बसे पनि गाउँमा सानातिना काम गर्न मन गर्दैनन्, बाहिर गएर जस्तो पनि पेसा अपनाउँछन्,’ उनले भने, ‘त्यसलाई चिर्न पनि मैले यो पेसा अपनाएको हो ।’

भेडा पालन पनि त्यति सहज नभएको उनी बताउँछन् । वन्यजन्तु, विषालु घाँस, महामारी लगायत कारण समस्या आइलाग्ने गरेको उनको भनाइ छ । तर, यी सब चुनौती हुँदा हुँदै पनि गाउँमा केही गरौं भनेरै यो पेसा अपनाएको उनी सुनाउँछन् ।

अहिले उनको भडा बथान खोटाङ र भोजपुरको सिमाना मैयुमा छ । खोटाङका आठ र भोजपुरका तीन भेडा पालक मैयुमा बसेर भेडा चराइरहेका छन् । पछिल्लो समय भेडा पालनप्रति किसानको वितृष्णा जागेको उनी सुनाउँछन् । चरन अभाव, जनशक्ति अभाव लगायतका कारण भेडा पालनप्रति किसान निरुत्साहित भएको उनले बताए । ‘पहिलेको तुलनामा आधाजति किसानले अहिले भेडा पाल्न छाडेका छन्,’ उनले भने, ‘चरन अभाव, जनशक्ति अभावले भेडा पाल्न छाडे, अहिले मुस्किलले व्यावसायिक रूपमा खोटाङका आठ र भोजपुरका तीन जनाले भेडा पालन गरिरहेका छन् ।’

भेडा पालक घटे पनि उनले भने यसलाई व्यवस्थित गर्ने योजना बनाएको बताए । ‘भेडा पालनबाट भविष्य राम्रै देखिन्छ, बजार पनि राम्रो छ, आम्दानी पनि राम्रै भइरहेको छ,’ उनले भने, ‘योजना राम्रो बनाइयो भने यसको भविष्य राम्रो छ । म त अहिले यसमै रमाइरहेको छु ।’

प्रकाशित : आश्विन २, २०८१ १३:१६
x
×