कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

धरानमा घरघरै चढ्छन् बाँदर

आश्विन २, २०८१
धरानमा घरघरै चढ्छन् बाँदर

धरान — जंगलतिरै रमाउनु पर्ने बाँदर अहिले धरान सहरको बस्तीसम्मै पुगेर बिज्याइँ गर्न थालेका छन् । सहरका अग्ला अग्ला घर चहारेर बाँदरहरू आहारको जोहो गर्दै छन् र उपद्राे मच्याइरहेका छन् ।

धरान नजिकैको विजयपुर जंगल क्षेत्रबाट अहिले हूल बाँधेर ओर्लिने बाँदर जंगल फर्किनै मान्दैनन् । खासगरी धरान-१४ विजयपुर, धरान- १ रेडक्रस लाइन, धरान-२ पुरानो बजार, धरान-३ माछाभौडीलगायत क्षेत्र बाँदरका स्थायी अखडा झैं लाग्छन् । ‘अहिले त कालोपत्र सडकमा मान्छे र बाँदर सराबरी हिँडिरहेका हुन्छन्,’ धरान-२ का विशाल श्रेष्ठले भने, ‘बाँदरले हत्तु हैरान पारिसके ।’

स्थानीयका अनुसार विगतमा सानो झुन्डमा आउने बाँदर यतिबेला सय/दुई सयको संख्यामा हुल बाँधिएर सहर पसिरहेका छन् । स्थानीय बासिन्दा यतिसम्म हैरान भइसके कि कतिपयले घर फलामे जालीले घेरेर राखेका छन् । ‘घरभित्रै पसेर बिगार गर्न थालेपछि घरको सुरक्षाका लागि तारजाली लगाउन बाध्य छौं,’ श्रेष्ठले दुखेसो पोखे, ‘बाँदरले बसिखान नदिने अवस्था भइसक्यो ।’धरानको पुरानो बजार क्षेत्रमा घर चढ्दै बाँदर । तस्बिर सौजन्य : भैरव आङ्ला

विगतमा विजयपुर, पुरानो बजारलगायत क्षेत्रमा सीमित बाँदर अहिले मुख्य बजार भानुचौक, महेन्द्र पथ, चतरालाइनसम्म पुग्ने गरेको स्थानीय बताउँछन् । श्रेष्ठ थप्छन्, ‘तारजालीले घर घेर्न थालेपछि आहाराको खोजीमा बाँदर मुख्य सहरतिर छिर्न थालेका छन् ।’

धरानबासीले बाँदर आतंक सामना गर्न थालेको दशक नाघिसकेको छ । तर, लामो समय बित्दा पनि सरकारी तवरबाट नियन्त्रणका उपायको खोजी भएको छैन । ‘दश/पन्ध्र वर्षदेखि हामी बाँदरका कारण आतंकित छौं,’ स्थानीय व्यवसायी योगेश अग्रवालले भने, ‘यसको निराकरण कसले गर्ने हो, थाहा छैन ।’

उनका अनुसार हुलका हुल आउने बाँदरले भान्सामा पकाएका खाना नष्ट गरिदिन्छन् । होटलमा पकाएर राखिएको खाना, नास्ता खाएर क्षति गर्नुका साथै सागसब्जी र फलफूलसमेत चोरेर भाग्ने गरेका छन् । ‘सबैभन्दा बढी स्थानीय व्यवसायी आजित छन्,’ अग्रवालले थपे, ‘यो हैरानी हामीले कहिलेसम्म भोग्नु पर्ने हो, थाहा छैन ।’

२०७० सालमा बाँदर व्यवस्थापन गर्न स्थानीय सहकुल श्रेष्ठको अध्यक्षताको १३ सदस्यीय बाँदर पीडित संघर्ष समिति बनेको थियो । समितिले तत्काल बाँदर व्यवस्थापनका लागि धरान उपमहानगरपालिका, जिल्ला वन कार्यालय सुनसरीलगायतका कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । समस्या समाधानका लागि सम्बन्धित निकाय गम्भीर नबनेको आरोप समितिको थियो । तत्कालीन अध्यक्ष श्रेष्ठले भने, ‘बाँदर आतंक समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई धेरै आग्रह गरियो तर कोही पनि गम्भीर बनेनन् ।’ करिब चार वर्षअघि धरान निवासी कोशी प्रदेश सभा सदस्य सावित्री जोशीले संसद्मा बाँदर समस्याबारे ध्यानाकर्षण गराएकी थिइन् ।

श्रेष्ठका अनुसार बाँदर आतंक अहिले विगतको भन्दा चौगुना बढेको छ । विगतमा केही बाँदरलाई धरानकै चारकोसे झाडीमा लगेर छाडिएको थियो । तर, त्यसपछि त झनै बाँदरको संख्या बढेको श्रेष्ठ बताउँछन् । ‘जंगलमा छाडेका बाँदर अरु साथी पनि बटुलेर आएछन्,’ उनी थप्छन्, ‘अहिले ती बाँदरले हैरान पारेका छन् ।’ श्रेष्ठका अनुसार बाँदर व्यवस्थापनमा कसैले चासो नलिएपछि समिति पनि केही वर्षयता निष्क्रिय छ ।

बाँदरहरूले यहाँ पैदल यात्रीमाथि पनि बारम्बार आक्रमण गरेका छन् । खासगरी बालबालिका र वृद्धवृद्धाहरूलाई बाँदरले आक्रमण गर्ने गरेको छ । बिजुली, फोन र इन्टरनेटका तारमाथि बाँदरले झुत्ती खेल्दा कहिलेकाहीँ सञ्चार सम्पर्क पनि विच्छेद हुने गरेको अनुभव स्थानीयको छ । सुनसरी १ (१) का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले बाँदरको आतंक भयावह भएको भन्दै त्यसको निराकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाए ।

प्रकाशित : आश्विन २, २०८१ १४:३४
x
×