कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

पहिरोले अवरुद्ध सडक खुल्यो

भाद्र २८, २०८१
पहिरोले अवरुद्ध सडक खुल्यो

खोटाङ — जिल्लाको उत्तरी क्षेत्र जोड्ने हुर्लुङ–जालपा–ऐसेलुखर्क बाक्सिला सडक खुलेको छ । गत भदौ २० गते उक्त सडक खण्डको खोरोलुमा गएको पहिरोले अवरुद्ध सडक शुक्रबार दिउँसोबाट खुलेको हो ।

बुधबारदेखि जोडर प्रयोग गरेर पहिरोले थुपारेका ढुङ्गा हटाइएपछि सडक खुलेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए।

पहिरोले ठूला–ठूला ढुंगा झारेकाले पन्छाउन समय लागेको राईले सुनाए । मध्यपहाडी लोकमार्गको हुर्लुङबाट उत्तरी क्षेत्र जोडिएको उक्त सडक अवरुद्ध भएपछि उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाबासीको जिल्ला सदरमुकाम दिक्तेल, काठमाडौं, विराटनगर लगायतका शहरहरूसंग सिधा यातायात सम्वन्ध विच्छेद भएको थियो ।

ऐसेलुखर्क गाउँपालिकामा पहिरोले क्षति पुर्‍याएका सडकहरूको पनि मर्मत भइरहेको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । उक्त गाउँपालिकामा अवरुद्ध भएको १६ सडकमध्ये १४ वटा खुलाइएको राईले बताए ।

‘ऐसेलुखर्कका ७ वटै वडामा १६ वटा सडक अवरुद्ध भएको थियो’ राईले भने–‘यसमध्ये १४ वटा खुलाइएको छ, जलेश्वरी र ज्यामिरेको सडक खुलाउन बााकी छ, अझै दुई–तीन दिन लाग्छ ।’ २० गते उत्तरी क्षेत्रमा भीषण वर्षा भएको थियो ।

प्रकाशित : भाद्र २८, २०८१ १६:५१
×