कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

वन व्यवस्थापनमा मधेशका मुख्यमन्त्री सिंहको जोड

भाद्र ९, २०८१
वन व्यवस्थापनमा मधेशका मुख्यमन्त्री सिंहको जोड

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे ध्यानाकर्षण गराउन पुगेका अभियन्ताहरूलाई मुख्यमन्त्री सिंहले वृक्षारोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन सरकार गम्भीर रहेको बताए ।

आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका फुलगेन मगहीसहितका अभियन्तालाई मुख्यमन्त्री सिंहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट उब्रिने नदीउकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताए । ‘सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दूरीमा रहनुपर्ने कारणले समस्या छ । तर, यसको समाधान पनि खोजिनेछ,’ उनले भने ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायतका काम गरिरहेको भन्दै बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङ्मार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्यक कार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए ।

मुख्यमन्त्री सिंहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसानलक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नील गाई व्यवस्थापन, नमुना पकेट क्षेत्र घोषणाअनुसार किसानलाई अनुदान र आँप खेतीका लागि विशेष अनुदानमा किटाशक औषधि, मलखाद र उपकरणको व्यवस्था, सिँचाई तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १६:२३
x
×