कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

हङकङ उड्नै लागेको निगमको न्यारोबडी फेरि ग्राउन्डेड

भाद्र ११, २०८१
हङकङ उड्नै लागेको निगमको न्यारोबडी फेरि ग्राउन्डेड

काठमाडौँ — १ सय ५४ यात्रु राखेर हङहङ उड्नै लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी मंगलबार पुनः ग्राउन्डेड भएको छ ।शनिबार राति १२ बजे ग्राउन्डेड भएको सगरमाथा नेपाली नाम भएको न्यारोबडी अल्फा किलो व्हिस्कीलाई मंगलबार बिहान टर्किस एयरलायन्सबाट झिकाइएको स्पेयर पार्ट्स राखेर मर्मत गरिएको हो ।

तीन दिनपछि उडानमा फर्काइएको न्यारोबडीमा १ सय ५४ यात्रु हङकङ जाँदै थिए भने उताबाट आजै राति ४२ जना यात्रु काठमाडौं फर्किने तालिका थियो ।

निगमका एक पाइलटका अनुसार हङकङ जान तयार भएको जहाजको भर्‍याङमा गाडीले ठोकिदिएको हो भने यसको हाइड्रोलिकमा समस्या देखिएपछि निगमका इन्जिनियरहरूले मर्मत गरेका थिए । तर, उनीहरूले जहाज उत्पादकले तोकेको मापदण्ड अनुसार मर्मत नगरेको उजुरी परेपछि प्राधिकरणबाट जाँचमा आएका उडान निरीक्षकले मर्मत गरिएको कागजात हेर्दा नियम उल्लंघन गरेको भेट्टाएपछि उक्त जहाजलाई ग्राउन्डेड गरिएको हो ।

‘न्यारोबडीको हाइड्रोलिक सम्बन्धी सिल मर्मत गर्दा अनअथोराइज्ड ग्लुले सिट टाँसेको उजुरी परेका आधारमा प्राधिकरणबाट निरीक्षकहरू जाँचमा गएका थिए,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘जहाज उत्पादकको मापदण्डबाहिर कुनै पनि स्पेयर पार्ट्स वा अरु सहायक सामग्री मर्मत गर्न पाइँदैन । हामीले सबै कागजात झिकाएका छौं ।’

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निगमसँग अर्को जगेडा जहाज नभएका कारण हङकङ जाने १ सय ५४ यात्रुलाई विमानस्थलभित्र रहेको र्‍याडिसन होटलको लाउन्जमा राखिएको छ । ती यात्रुलाई आजै राति निगमको अर्को एकमात्र उडानमा रहेको न्यारोबडीबाट उडाउने वा होटलमा राख्नेबारे विमानस्थलस्थित यात्रु सेवा विभाग प्रमुख रिना राईलाई फोन सम्पर्क गर्दा उनले फोन उठाइनन् ।

निगमका प्राविधिक प्रवक्ता दिभेन्द्र पुनले जहाजमा बिग्रिएको सिल अमेरिकाबाट झिकाइएकाले बुधबार मर्मत गरेर जहाज उडानमा ल्याइने बताए । निगमसँग दुइटा न्यारोबडी र दुइटा वाइडबडी विमान छन् । एउटा वाइडबडी विस्तृत मर्मत (सीचेक)का लागि दुई महिनादेखि इटालीमा अलपत्र परेको छ । अर्को बुधबार मर्मतका लागि पठाइँदै छ । यता आन्तरिक उडानमा दुइटा टुइनअटरमध्ये एउटामात्रै उडानमा थियो । त्यो पनि नेपालगन्जमा बिग्रिर अलपत्र परेको छ ।

प्रकाशित : भाद्र ११, २०८१ १९:१२
x
×