कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

छत्रेश्वरीमा एकै वर्षमा ८२१ घरमा खानेपानी

भाद्र ११, २०८१
छत्रेश्वरीमा एकै वर्षमा ८२१ घरमा खानेपानी

सल्यान — छत्रेश्वरी गाउँपालिकाले सात वडामा एक वर्षमा ८ सय बढी घरमा खानेपानीको सुविधा पुर्‍याएको छ । पालिकाभित्रका स्थानीय महिलाले खानेपानीका लागि विभिन्न किसिमको संकट उठाउन नपरोस् भन्दै ‘एक घर एक धारा’को अभियान थालेको छत्रेश्वरीले खानेपानी स्वच्छता परियोजनाको सहकार्यमा आर्थिक वर्ष २०८०/८१ मा ८२१ घरधुरीमा खानेपानीको सुविधा पुर्‍याएको हो ।

सातै वडामा खानेपानीको सुविधा पुर्‍याएपछि यहाँका ५ हजार ३ सय ६० स्थानीय लाभान्वित भएका छन् । आउँदा दिनमा उनीहरूले खानेपानीका लागि घन्टौं हिँड्नु पर्ने बाध्यता र वर्षातको समयमा पनि खोलाको पानी खानु पर्ने बाध्यताको अन्त्य भएको छ । विगतमा खानेपानीका लागि विभिन्न किसिमको सास्ती भोग्दै आएका चार वडाका स्थानीय अहिले घरघरमै खानेपानीको सुविधा पुगेपछि खुसी भएका छन् ।

एक गाग्री खानेपानीको जोहो गर्न गत वर्षसम्म विभिन्न किसिमका सास्ती भोग्दै आएकी छत्रेश्वरी गाउँपालिका–४ हारिचारकी ४७ वर्षीया रामकली खत्रीले घरमै धारा जडान गरेर नियमित पानी आउन थालेपछि धेरै सहज भएको बताइन् । ‘पुरानो योजना जीर्ण भएर धारामा पानी आउन छाडेको र नजिकैको मुहानसमेत सुकेपछि गत वर्षसम्म खानेपानीका लागि एक घन्टा टाढासम्म हिँड्नु पर्ने बाध्यता थियो । गर्मीको समयमा मुहानमा भीडभाड हुने भएकाले बिहानै उठेर गाग्री बोकी मुहान जानु पर्थ्यो,’ उनले भनिन्, ‘अब पानीका लागि रातबिरात मुहान चहार्नु नपर्ने भएको छ । खानेपानीका लागि चिन्ता लिइरहनुपर्ने अवस्था अन्त्य भएको छ ।’

खानेपानी योजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि वर्षौंदेखिको खानेपानीको समस्या समाधान भएको वडा नं. ७ पानीखोलाकी मीनाकुमारी वलीले बताइन् । ‘गत वर्षसम्म दुई/तीन गाग्री पानीले खाना पकाउनेदेखि लिएर सबै कामका लागि पुर्‍याउनु पर्थ्यो । पानी लिन जानुपर्ने बाध्यताले बालबालिकाको पठनपाठनसमेत प्रभावित हुन्थ्यो । पानीकै अभावका कारण कसेराबारीमा तरकारी लगाउन पाइँदैनथ्यो । अब त्यस्तो छैन,’ उनले भनिन्, ‘घरघरमै खानेपानीको सुविधा भएपछि करेसाबारीमा तरकारी लगाउनसमेत पाइएको छ ।’ घरमै खानेपानीको सुविधा पुग्दा धेरै खुसी लागेको उनको भनाइ छ ।

एक दशकदेखिको खानेपानीको सपना अहिले आएर पूरा भएको छत्रेश्वरी–५ की देवकला बस्नेतले सुनाइन् । ‘बिहानै उठेर पानी लिन जाँदा एक घन्टा बढी समय लाग्थ्यो । फर्कंदा त्यत्तिकै समय खर्च हुन्थ्यो । गर्मीको समयमा त एक गाग्री पानीका लागि बिहानभरि लाग्थ्यो । जंगलको बाटो हिँड्नु पर्दा डर त्यत्तिकै हुन्थ्यो । घरमै पानी आएपछि समयको पनि बचत भएको छ । विभिन्न किसिमको डरबाट मुक्ति मिलेको छ । पानी लिन जाने समय बचत भए पनि अन्य काम गर्न सहज भएको छ,’ उनले भनिन् ।

पालिका र खानेपानी स्वच्छता परियोजनाको सहकार्यमा झन्डै ३ करोड बजेटमा ५० बढी योजना सम्पन्न गरेर सबै वडाका खानेपानी पुर्‍याएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । पालिकाले मात्र ३६ योजना सम्पन्न गरेर ५ सय १२ घरमा पानी पुर्‍याएको उनले जानकारी गराए ।

खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना अन्तर्गत चार वडाका ३ सय ९ घरमा पानी पुगेको र २ हजार ७ सय लाभान्वित भएको पालिकाका योजना शाखा प्रमुख नवीन चन्दले बताए । परियोजनाबाट घरघरमा खानेपानीका धारासँगै भाँडाकुडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान बनाएको उनले जानकारी गराए । परियोजनाबाट सरसफाइसम्बन्धी काम पनि भइरहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ११, २०८१ १८:५४
x
×