कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

रोगी मौरी र चाका लिएर फर्किदै प्राविधिक टोली

भाद्र २८, २०८१
रोगी मौरी र चाका लिएर फर्किदै प्राविधिक टोली

जुम्ला — मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ । मौरी घारबाट निस्केर उड्न नसकी मर्न थालेपछि किसानहरुले मौरी विकास केन्द्रबाट प्राविधिक अध्ययनको माग गरेका थिए ।

मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसी अध्ययनका लागि जुम्ला आएका थिए । टोलीले गुठिचौर गाउँपालिकाको कोल्ते, पातारासी गाउँपालिकाको पेरे, तातोपानी गाउँपालिकाको गौतमबाडा र डाँगीबाडामा पालिएका मौरीको अध्ययन गरेको थियो ।

‘उहाँहरूले झण्डै चार सयभन्दा बढी मौरी घार हेर्नुभयो,’ मौरीपालक किसान नारायण चौलागाईँले भने, ‘मौरीघारमा देखिएका समस्या अध्ययन गरेर मरेका मौरी र चाका लिएर जानुभएको छ । ल्याबमा परीक्षणपछि रोग पत्ता लाग्ने आशा पलाएको छ ।’

अध्ययनका क्रममा अधिकांश घारमा मह समेत नभेटिएको टोलीले जनाएको छ । वर्षाले फूलमा भएको गुलियोपानी सबै पखालिदिएकोले घारमा मह नभएको निष्कर्ष टोलीको छ । तर बर्षा रोकिने बित्तिकै मौरीले घारमा मह जग्गा गर्न सुरु गर्नेछ ।

प्राविधिक टोलीसामु किसानले मौरीको बिमा गर्नुपर्ने, जुम्लाको हावापानी सुहाँउदो चलायमान घार सिफारिस गरेर पठाउनुपर्ने, किसानबाट दुई जना र कृषि कार्यालयबाट एक जनालाई मौरी सम्बन्धी तालिम दिइनुपर्ने माग राखेका छन् । एक जना किट विज्ञ समेत जुम्ला पठाउनुपर्ने किसानको अडान छ ।

मौरी विज्ञ श्रेष्ठले जुम्लाका मौरीमा देखिएको समस्या ल्याबमा लिएर परीक्षण हुने बताएका छन् । ‘म काठमाडौं लिएर छलफल गर्नेछु । ल्याबमा परीक्षण पछि आउने नतिजा किसानहरु माझ प्रवाह गर्नेछु,’ विज्ञ श्रष्ठेले भने ।

तीन दिनसम्म किसानको दैलोमा पुगेको टोलीले जिल्लाभरी मौरीमा एकै प्रकारको लक्षण भेटिएको जनाएको छ । मौरी घारमा मह पोलाको माथिल्लो भागमा हुनुपर्नेमा नभएको, घारमा कुट नभएकोले पोला कमजोर भएर मौरी नासिने अवस्थामा पुगेको टोलीको अध्ययनले जनाएको छ । ‘मौरी रोग, परजीवी, विषादी र कुपोषणका कारणले मर्ने गर्छ,’ विज्ञ श्रष्ठले भने, ‘जिल्लाको तीन ठाउँमा पुग्यौं । व्यवस्थापकीय पक्ष ठिक छ । घारहरु राम्रोसँग राखिएका छन् । मौरी बचाउन घार सुधारमा केही गर्नुपर्ने देखिएको छ ।’

मरेका मौरीको नमुना नेपाल कृषि अनुसन्धान केन्द्रको किट तथा नेपाल बाहिर पठाएर भए पनि रोगको पहिचान गरिने उनले बताए । जुम्लामा सेराना सेराना जातको मौरी पालिदै आएको छ ।

टोलीले मौरी घारको अवस्था, चरन क्षेत्र र रोग किराको बारे पनि अध्ययन गरेको छ । जुम्लामा ८ हजार भन्दा बढी मौरीघार छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामै मौरीपालन भइरहेको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १९:०४
×