ब्राजिलको ट्रान्जिटमा अड्किएका १७६ नेपाली सकुशल : दूतावास

ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने नेपाली यात्रीका लागि नयाँ नियम

भाद्र ११, २०८१

कान्तिपुर संवाददाता

176 Nepalis stuck in transit in Brazil are safe: Embassy

काठमाडौँ — ब्राजिलमा ट्रान्जिटमा अड्किएका १७६ नेपाली सकुशल रहेको ब्रजिलियास्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकता परेको अस्थामा मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । 

दूतावासले ब्राजिलको साउपाउलो विमानास्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको भन्ने समाचारप्रति दूतावासको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

दूतावासले दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो जनाएको छ ।

‘संगठित रुपमा सञ्चालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ,’ मंगलबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, दूतावासले ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने नेपाली यात्रीका लागि नयाँ नियम आएको पनि प्रष्ट पारेको छ ।

‘ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।’

दूतावासले मानव तस्करहरुको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा ननिस्कन पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ । 

कान्तिपुर

Link copied successfully