कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

पाल्पाका २१ पत्रकार पुरस्कृत 

भाद्र ११, २०८१
पाल्पाका २१ पत्रकार पुरस्कृत 

पाल्पा — नेपाल पत्रकार महासंघ पाल्पा शाखामार्फत स्थापना भएका विभिन्न पुरस्कारबाट पाल्पाका २१ जना पत्रकार मंगलबार पुरस्कृत भएका छन् । 

पत्रकार महासंघ पाल्पाले लुम्बिनी मेडिकल कलेजले स्थापना गरेको ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्वअध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी पुरस्कृत भएका छन् । २५ हजार नगदसहित मेघ–गोविन्द–झपेन्द्र पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक सचिव तथा वर्तमान उपाध्यक्ष भरत शर्मा, तानसेन नगरपालिकाबाट स्थापित १५ हजार राशिको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा र मुक्तिप्रसाद न्यौपाने पुरस्कृत भए ।

यसैगरी जिल्ला समन्वय समितिले राखेको १० हजार राशिको सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मिलन विक, कृष्ण दर्नाल र सिता डोटेल पुरस्कृत भए । रामपुर नगरपालिकाले स्थापना गरेको १० हजार राशिको ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सुशीला रेग्मी र रमा भण्डारी साथै ७ हजार ५ सय राशिको सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट पत्रकार दयाराज न्यौपाने र ५ हजार राशिको मानवअधिकार पत्रकारिता पुरस्कारबाट पत्रकार नारायण न्यौपाने पुरस्कृत भए ।

पत्रकार महासंघ पाल्पाले ४ हजार राशिको लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पत्रकारहरु रीमा सोमै, वीरेन्द्र घिमिरे, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, सुनिल कार्की, धनबहादुर ठाडालाई पुरस्कृत गरेको छ । पुरस्कृत पत्रकारलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगर, प्रदेश अर्थमन्त्री धनबहादुर कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, शाखा अध्यक्ष रेखीराम राना लगायतले पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण गर्दै मुख्यमन्त्री आचार्यले पाल्पामा पर्यटनको प्रवल सम्भावना भएकाले पाल्पालाई लुम्बिनी सर्किटसँग जोडेको बताए । उनले यहाँको समृद्धि पर्यटनको विकासबाट हुने भएकाले सर्किटले प्रदेशका १२ जिल्लालाई समेट्ने भएकाले पर्यटन बिकासमा टेवा पुग्ने बताए ।

प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुले पालन गर्नुपर्ने आचारसंहितामा लागू गरेको, उच्च पदस्थको सुविधा कटौती गरेको लगायतका निर्णयले खर्चमा कटौती हुने उनले बताए ।


प्रकाशित : भाद्र ११, २०८१ १७:४८
x
×