कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कार्यकर्तालाई मुख्यमन्त्री आचार्यले भने - 'कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस्'

भाद्र २८, २०८१
कार्यकर्तालाई मुख्यमन्त्री आचार्यले भने - 'कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस्'

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उद्यम खोलेर आफ्नो परिवार र सिंगो समाजलाई आत्मनिर्भर बनाउने काममा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

हरेक नागरिक आत्मनिर्भर नहुँदासम्म मुलुक बन्न नसक्ने भन्दै कृषि उद्यममा जोडिएर स्वरोजगार बन्न उनले अपिल गरेका छन् ।

एमाले विजयनगर गाउँपालिका कपिलवस्तुको दोस्रो गाउँ कमिटी अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका आचार्यले कृषि गर्ने पेसा कमजोर हो भन्ने चिन्तनले अहिले समस्या आएको र आत्मनिर्भर बन्न नसकेको बताए । उनले कृषि उद्यमबाटै मनग्ये आम्दानी गर्न सकिने पनि बताए ।

छोराछोरीलाई घाँस काट्ने, मल फाल्ने, गाई, भैंसी पाल्ने कुरा कथाजस्तो लागेको बताउँदै उनले पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिनेगरी हरेक क्षेत्रलाई प्रविधिसँग जोडेर युवाहरुलाई अगाडि बढाउनुपर्ने बताए ।

उनले खेती गर्ने, पशु पाल्ने कामलाई पार्टीका नेताले अँगालेर उदाहरण दिन जरुरी रहेको बताए । कपिलवस्तु अन्न, तरकारी उत्पादनका हिसाबले उर्बर भुमि रहेको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले सरकारले जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र भ्रष्टाचार निर्मूल गर्न कठोर भएर अघि बढेको बताए । एक पटक मुख्यमन्त्री भएपछि आजीवन राज्यबाट सेवासुविधा लिन पाउने अघिल्ला सरकारले गरेका सबै निर्णयलाई उल्टाएको पनि बताए ।

योजना कार्यान्वयनको नाममा हुने आर्थिक अपचलनका विरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेको बताए । पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको स्पष्ट पारे । `यो वर्ष लगेका फाइल पढ्नबाहेक, बजेट हाल्न सक्दिनँ, प्रदेश सरकारले असार १ गते बजेट ल्याउँछ, यस वर्षको बजेट आइसकेको छ,´ उनले भने, ´छुटेका योजनालाई अर्को वर्ष समेट्छौं । परेको बजेटलाई सदुपयोग गरे विकासले फड्को मार्छ ।´

प्रकाशित : भाद्र २८, २०८१ १९:४९
×