कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

‘नुवाकोट सांस्कृतिक डबली’ अब तिनाउलाई

आश्विन १, २०८१
‘नुवाकोट सांस्कृतिक डबली’ अब तिनाउलाई

दाङ — लुम्बिनी प्रदेश सरकारको सहयोगमा  निर्माण सम्पन्न भएको ‘नुवाकोट सांस्कृतिक डबली’ अर्थात् ओपन थिएटर संरक्षण र सञ्चालनको जिम्मा पाल्पाको तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले डबलीको संरक्षण र सञ्चालन गर्ने जिम्मा तिनाउ गाउँपालिकालाई दिने निर्णय गरिएको बताए ।

तिनाउ गाउँपालिका–२ मा रहेको डबली २०७७ सालमा ३ करोड ८५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको थियो । पाल्पा तथा स्थानीय स्तरमा रहेका कला संस्कृति तथा ऐतिहासिक पक्षको प्रचारप्रचार गरी पर्यटक भित्र्याउने उद्देश्यले प्रदेश सरकारको योजना अनुसार डबली निर्माण गरिएको हो ।

सबै जातजातिको भेषभूषा, कला, संस्कृति प्रदर्शन गर्न डबली निर्माण गरिएको मन्त्रालयका उपसचिव गीता आचार्यले बताइन् ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय मातहतको पर्यटन डिभिजन कार्यालयमार्फत निर्माण भएको डबलीलाई केही समयअघि पाल्पा दरबार संग्रहालयलाई हस्तान्तरण गरेको थियो ।

दरबार संग्रहालयसमक्ष तिनाउले डबली सञ्चालन तथा संरक्षणका गर्न पाउनुपर्ने माग राख्दै पत्र लेखेपछि संग्रहालयका अध्यक्ष एवं मन्त्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकले पालिकालाई सञ्चालन तथा संरक्षणको अधिकार दिने निर्णय गरेको हो । यो निर्णयलाई अब मन्त्री परिषद्बाट अनुमोदन गराउने र तिनाउलाई सञ्चालनको अधिकार दिन आवश्यक प्रक्रिया अगाडि बढाइने उनले बताए ।

प्रकाशित : आश्विन १, २०८१ १७:२३
x
×