कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अब प्रदेश सडक गुरुयोजना बनाइने : आचार्य

आश्विन १, २०८१
अब प्रदेश सडक गुरुयोजना बनाइने : आचार्य

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्रभावकारी कार्यान्वयनमार्फत नयाँ उचाइमा पुर्‍याउन सडक गुरुयोजना निर्माणको काम सुरु गरिएको बताएका छन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशसभा सदस्यहरूको सकारात्मक सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । उनले वर्तमान सरकारको प्राथमिकता आर्थिक बेथितिलाई रोक्ने र योजनाको काम प्रभावकारी बनाउने रहेको बताए ।

‘अब तुरुन्तै प्रदेश सडक गुरुयोजना बन्दैछ । प्रस्तावको रूपमा मन्त्रालयले जिल्ला तहमा पठाउने छ,’ उनले भने, ‘प्रदेश स्तरका हाइवे बनाउने र प्रदेश स्तरका सडक कति लम्बाइका बनाउने र एक जिल्लामा कति सडक बनाउने भन्ने विषय प्रदेश सडक गुरुयोजनाले निर्धारण गर्नेछ ।’

प्रदेशका पूर्वाधार विकासको काम प्रभावकारी र तोकिएको समयमा सम्पन्न गर्न, प्रदेशमा आवश्यक पर्ने सडकहरूको प्राथमिकता निर्धारण गर्न र योजना कार्यान्वयन प्रभावकारी बनाउन सडक गुरुयोजना निर्माणको काम अघि बढाइएको हो । मुख्यमन्त्री आचार्यले प्रदेशमा तीन हजार सडक रहेको पनि बताए ।

योजना कार्यान्वयनको नाममा हुने आर्थिक बेथितिलाई रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्न प्रदेश सभा सदस्यहरूले पनि सहजीकरण गरिदिन उनले आग्रह गरे । ‘आर्थिक बेथितिलाई रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धामा लैजाने प्रक्रिया सरकारले अघि बढाएको छ,’ उनले भने, ‘त्यो कार्यान्वयन गर्ने विषयमा माननीयज्यूहरूले पनि सहजीकरण गरिदिनु जरुरी छ ।’ उनले एउटै पालिकाभित्र धेरै योजना भएमा त्यसलाई जोडेर ठेक्का प्रक्रियामा लैजान सकिने पनि बताए । योजनाहरूका लागि बजेट कम भएको अवस्थामा सरकारले अधुरा कामलाई अर्को वर्ष प्राथमिकताका साथ बजेट उपलब्ध गराउने पनि उनले बताए ।

प्रकाशित : आश्विन १, २०८१ १८:०४
x
×