कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

आमासँगै अस्ताइन् पुथा उत्तरगंगाकी उपाध्यक्ष भुपेन्द्रा

भाद्र २८, २०८१
आमासँगै अस्ताइन् पुथा उत्तरगंगाकी उपाध्यक्ष भुपेन्द्रा

Highlights

  • उपाध्यक्ष र वडाध्यक्षको निधनले शोकमा डुब्यो पुथा उत्तरगंगा

रुकुम पूर्व — बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको निधन भयो । दुर्घटनामा उपाध्यक्ष बुढासँगै उनकी आमा गोपीमाया र पुथा उत्तरगंगा–२ का वडाअध्यक्ष जसबहादुर सिर्पालीको ज्यान गएको छ । उपाध्यक्ष भुपेन्द्रा काठमाडौंबाट आमाको उपचार गराएर गाउँ फर्किदै थिइन् । 

आफ्नो र आमाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं गएकी बुढाको घर फर्कने क्रममा गाडी दुर्घटना भएको हो । गाउँपालिका अध्यक्ष पुनीराज घर्तीका अनुसार उपाध्यक्ष भुपेन्द्राको दाँतमा समस्या आएपछि भदौ १७ गते उपचारका लागि काठमाडौं गएकी थिइन् । ‘दाँत दुख्ने समस्या भएपछि हामीलाई जानकारी गराएर उहाँ काठमाडौं जानुभएको थियो,’ अध्यक्ष घर्तीले भने, ‘स्वास्थ्य उपचार सकेर उहाँ फर्किदै हुनुहुन्थ्यो । बीचमा यस्तो दुर्घटना भयो ।’

पुथाउत्तरगंगा–१२ कोल गाउँकी बुढामगर हाल आमा र भाईसँग बस्दै आएको वडा ५ का अध्यक्ष टीकासाई घर्तीले बताए । ‘उहाँको एउटा ११ वर्षको छोरा काठमाडौंमा बसेर पढिरहेको छ । उपाध्यक्ष ज्यू भने कहिलेकाँही मात्रै जानुहुन्थ्यो,’ उनले भने, ‘काठमाडौं जानुभन्दा अघि आफ्नो र आमाको उपचारका लागि जादैछु भन्नुभएको थियो । त्यसपछि मेरो कुरा भएको थिएन । एक्कासी यो दुःखद् खबर सुने ।’ उपाध्यक्षको निधनको खबरले आफुहरु शोकमा परेको स्थानीय बताउँछन् ।

पुथाउत्तरगंगाका–५ का कर्मटेक बुढाले एक्कासी मृत्युको खबर सुनेर छांगाबाट खसेजस्तै भएको बताए । मृतक बुढामगरका बुबा तत्कालीन समयमा गाउँपञ्चायतका प्रधानदेखि जिल्ला सदस्यसम्म भएका थिए भने आमा महिला स्वास्थ्य स्वयमसेविका थिइन् । उनले पालिकामा उपाध्यक्षको जिम्मेवारीमा रहँदा ‘गर्भवतीसँग उपाध्यक्ष, किशोरीसँग उपाध्यक्ष कार्यक्रम संचालन र बिभिन्न मौलिक सीपमूलक तालिम संचालन गर्न जोड दिएको पुथाउत्तरगंगा–५ का अध्यक्ष घर्तीले बताए ।

‘उहाँ पालिकाबासी र यहाँको विकासका लागि के गर्न सकिन्छ भनेर चिन्ता गरिरहनुहुन्थ्यो,’ स्वर्गीय बुढालाई सम्झिदै उनी भन्छन्, ‘कार्यपालिका बैठकमा उहाँको प्रस्ताव जहिले पनि पीडित र गरिबको सुख र समृद्धि ल्याउने बारे हुन्थ्यो । कसैलाई अप्ठ्यारो पर्दा उहाँ आफै पुग्नुहुन्थ्यो ।’

उपाध्यक्षको निधनले पालिकालाई ठूलो क्षति पुगेको अध्यक्ष घर्तीको भनाई छ । ‘उपाध्यक्ष ज्यू फर्केपछि कार्यपालिका बैठक बस्ने तयारी थियो,’ उनले भने, ‘पुथाउत्तरगंगाको विकासका लागि उहाँका धेरै सपना थिए । अब उहाँको सपना र योजना पूरा गर्ने जिम्मेवारी हामीमा आएको छ ।’

आफ्नो काममा डटेर लाग्ने उपाध्यक्ष बुढा पछिल्लोपल्ट काठमाडौंको एक संस्थाले ‘नेपाली महिला जनप्रतिनिधिको सु–कर्मलाई संचार गर्ने अभियान शी लिड्स आईकन’ मा छनौट भएकी थिइन् ।

यसका लागि देशभरिबाट भोट गर्नुपर्ने भनिएकाले उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भोटको अपिल समेत गरेकी थिइन् । विभिन्न सामाजिक संस्थाहरुमा काम गरेकी उपाध्यक्ष बुढामगर माओवादी केन्द्रको भातृ संगठन वाईसीयलमा संगठित भएर उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । हाल उनी वाईसीएलको केन्द्रीय सदस्यका साथै मगर युवा संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पनि थिइन् ।

साथै वडा २ का अध्यक्ष जसबहादुर सिर्पाली पछिल्लो स्थानीय तह निर्वाचनबाट पहिलोपटक वडाको नेतृत्वमा चयन भएका थिए । यार्चागुम्बा पाईने क्षेत्र तथा ढोरपाटन शिकार आरक्षको शिकार ब्लक रहेको वडाको अध्यक्ष रहेका सिर्पाली त्यहाँको विकासका एक चिन्तक रहेको स्थानीय बलमान विक बताउँछन् ।

दलित समुदायबाट वडाध्यक्ष निर्वाचित भएका सिर्पाली भूगोलको विकासका साथै निम्न वर्गीयका लागि डटेर काम गर्ने व्यक्ति भएको स्थानीय हर्कबहादुर कामी बताउँछन् । शुक्रबार बिहान बागुलङको गलकोट नगरपालिका २ भुङखानीमा रा१झ २०० नम्बरको पिकअप जिप सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रकाशित : भाद्र २८, २०८१ १९:५९
×