कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

सडक बनाउन माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

भाद्र ९, २०८१
सडक बनाउन माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

Highlights

  • गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने राजविराज-छिन्नमस्ता-न्योर बोर्डर सडकमा हालसम्म १३.३३ प्रतिशत मात्रै काम भएको छ ।

राजविराज — सप्तरीको छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने राजविराज-छिन्नमस्ता सडक र भारतीय दर्शनार्थी आउने न्योर बोर्डर सडक तोकिएको समयावधिभित्र निर्माण नभएको भन्दै छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू आन्दोलित बनेका छन् । 

जनप्रतिनिधिहरूले अबको आन्दोलन सिंहदरबार केन्द्रीत हुने समेत जनाएका छन् । दशैँ नजिकिँदै गर्दा नेपाल र भारत दुवैतर्फबाट शक्तिपीठ छिन्नमस्ता जोड्ने सडक निर्माण नहुँदा आवागमनमा समस्या हुने र पर्यटकहरूको संख्या समेत कम हुने भन्दै स्थानीयवासी र जनप्रतिनिधिहरू विगतदेखि नै आन्दोलित छन् ।

'सडक निर्माणको ठेक्का लागेको छ, काम कछुवाको गतिमा भइरहेको छ, सडकमा चारैतिर खाल्डाखुल्डी मात्रै छन् । दैनिक सवारी दुर्घटना भइरहेको छ,' गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आइतबार सार्वजनिक आह्वान गर्दै भनेका छन्, 'सडक बनाइदिन सडक डिभिजन कार्यालय लहानमा पटक-पटक आग्रह गऱ्यौँ, जनप्रतिनिधिहरु सडक डिभिजनमा धर्ना बस्यौँ, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर भन्यौँ। तर केही हुन सकेन ।'

सडकको दुरावस्थाका कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजन र पर्यटकहरुको संख्यामा कमी आएको बताउँदै गाउँपालिका अध्यक्ष चौधरीले राजविराज-छिन्नमस्ता-न्योर सडक निर्माणका लागी अब सिंहदरबार र संघीय संसद् वरिपरि नै आन्दोलन गरिने बताए ।

उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालयले २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा साह इन्जिनयरिङ्ग प्रालिलाई ठेक्का दिएको थियो । गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने सडकमा हालसम्म १३.३३ प्रतिशत मात्रै काम भएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १८:३९
x
×