कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

मकवानपुरमा १४७ डेंगी र ७६ जना स्क्रब टाइफसका बिरामी

भाद्र ११, २०८१
मकवानपुरमा १४७ डेंगी र ७६ जना स्क्रब टाइफसका बिरामी

हेटौंडा — मकवानपुरमा डेंगी र स्क्रब टाइफसका बिरामी दैनिक रूपमा बढ्दै गएका छन् । साउन १ देखि भदौ ११ सम्म मकवानपुरमा डेंगी संक्रमित १ सय ४७ जना पुगेका छन् । पछिल्लो २४ घन्टाभित्र थप चार डेंगीका बिरामी थपिएका हुन् । थपिएकामध्ये चारै जना हेटौंडा उपमहानगरपालिकाका छन् ।

हेटौंडा उपमहानगरपालिकामा साउनयता ४६ पुरुष र ६२ महिला गरी १०८ डेंगी संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । यसैगरी गाउँपालिकामध्ये मनहरिमा १६, मकवानपुरगढीमा ८, बकैयामा ६, भीमफेदीमा ३, वाग्मतीमा १ र कैलाशमा १ जना डेंगीका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य जिल्लाका ३ जना संक्रमित रहेका छन् ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगका बिरामी जिल्लामा दैनिक रूपमा थपिँदै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । जिल्लाको इन्द्रसरोवर, राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकामा साउनयता डेंगी सङ्क्रमितको संख्या शून्य छ । गत आवमा जिल्लामा ८९१ जनामा डेंगी पुष्टि भएको थियो । गत आवमा डेंगीबाट एक पुरुषको मृत्यु भएको थियो ।

यसैगरी मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको संख्या पनि यहाँ बढ्दै गएको छ । साउन १ देखि भदौ ११ सम्म जिल्लामा ७६ जना स्क्रब टाइफसका पुरुष २४ र महिला ५२ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी घिमिरेले बताए । पछिल्लो २४ घन्टामा थप ६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । पुरुषमा भन्दा यो रोग महिलामा बढी देखिएको छ ।

साउनयता मंगलबारसम्म हेटौंडा उपमहानगरमा २७ महिला र १४ पुरुष गरी ४१ जनामा यो रोग देखापरेको हो । यसैगरी मकवानपुर गढीमा ९, मनहरिमा ८, भीमफेदीमा ५, बकैयामा ८ जनामा यो रोग देखापरेको सूचना अधिकारी घिमिरेले बताए । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा घाँस तथा स्याउलासोत्तर गर्ने हुँदा बढी जोखिममा रहेको सूचना अधिकारी घिमिरेले बताए ।

प्रकाशित : भाद्र ११, २०८१ १८:१५
x
×