कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

फैलिँदै डेंगी : चितवनमा संक्रमितको संख्या ८ सय नजिक

भाद्र २८, २०८१
फैलिँदै डेंगी : चितवनमा संक्रमितको संख्या ८ सय नजिक

चितवन — केही समयअघि चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाको पृथ्वी राजमार्गसँगै जोडिएका बजार क्षेत्रमा डेंगी रोगको संक्रमण तीव्र थियो । त्यहाँ संक्रमण अझै यथावत नै छ । पछिल्ला दिन भरतपुर महानगरमा पनि डेंगी संक्रमण बढेको छ । चितवन जनस्वास्थ्य कार्यालयका अनुसार साउनयता बिहीबारसम्म जिल्लामा संक्रमितको संख्या ७७९ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भरतपुरमा छन् । जनस्वस्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिका क्षेत्रमा बिहीबारसम्म डेंगी संक्रमितको संख्या ३१५ पुगेको छ । त्यसपछि इच्छाकामना गाउँपालिकामा ३०८ जना संक्रमित भएका छन् ।

बाँकी पाँचपालिकामा संक्रमितको संख्या सयभन्दा तलै छ । रत्ननगर नगरपालिकामा ९०, खैहरनी नगरपालिकामा ३५, कालिका नगरपालिकामा १६, राप्ती नगरपालिकामा ११ र माडी नगरपालिकामा चार जना मात्रै डेंगी संक्रमित छन् । ‘भरतपुरमा पछिल्लो समय संक्रमण बढेको छ,’ महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक सुवेदीले भने ।

साउनसम्म चितवनभर डेंगी संक्रमितको संख्या २७४ थियो । भरतपुरमा ४४ जना संक्रमित थिए । त्यो बेलासम्म इच्छाकामनामा संक्रमितको संख्या १७८ पुगेको थियो । अहिले भरतपुर संक्रमित हुनेमा पहिलो भएको छ । भरतपुरमा डेंगी संक्रमितको ज्यानसमेत गएको छ ।

जनस्वास्थ्य कार्यालयले भदौ १५ मा डेंगी संक्रमित भरतपुर–२ का ६३ वर्षीय पुरुषको निधन भएको जनाएको छ । त्यसको तीन दिनपछि भदौ १८ मा मृत्यु भएका व्यक्तिको विवरण भने जनस्वास्थ्य कार्यालयले राखेको छैन । भरतपुर–२० स्थायी ठेगना भइ भरतपुर–४ बाह्रघरेमा बसोबास गर्ने ४१ वर्षका पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको थियो ।

भरतपुर अस्पतालमा निधन हुने व्यक्ति डेंगी संक्रमित भए पनि कलेजो सम्बन्धी रोगबाट पनि निकै नै ग्रसित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले बताए । ‘पानी आउने र घाम लाग्ने भइरहेको छ । यस्तो मौसम लामखुट्टेका लागि निकै अनुकुल हुने गर्छ । त्यसैले सबैजना सचेत र सजग रहन आवश्यक छ,’ भरतपुर महानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक सुवेदीले भने ।

डेंगी भाइरसबाट संक्रमित एडिज जातको पोथी लामखुट्टेले टोके मान्छेलाई पनि डेंगी हुन्छ । यो लामखुट्टे दिन र साँझपख बढी सक्रिय हुन्छ । जमेको सफा पानीमा अण्डा पार्छ । ‘हामीले सचेतना अभियान चलाउँदै आएका छौं । मुख्य कुरा लामखुट्टेले अण्डा पार्ने गरेर पानी जम्न दिनुभएन । जमेको पानीमा लार्भा छन् कि खोजेर नष्ट गरौं । संक्रमणको लक्ष्ण देखिए स्वास्थ्यकर्मीसँग परामर्श, परीक्षण र उपचार समयमा गरौं,’ सुवेदीले भने ।

छत ढलान गरेर जमाएको पानी, बिर्को खुला राखेको पानी ट्याङ्की, कुलर, फ्रिजमा जमेको पानी, पुराना टायर, गमला तल राखेको प्लेट, चाउचाउका खोस्टा, मिनरलवाटरको बिर्कोमा पनि पानी जमेको छ भने डेंगु गराउने लामखुट्टेले अण्डा पार्ने सुवेदीले बताए । त्यसैले विद्यालय र टोल विकास संस्थासँग समन्वय गरेर महानगरका २९ वटै वडामा सचेतना कार्यक्रमका साथै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान चलेको उनले बताए ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी संक्रमण भएको पुष्टि चितवनमै भएको थियो । त्यो वर्ष चितवनमा उपचार गराएका एक विदेशीलाई डेंगी देखिएको थियो । त्यसपछि सन् २००६ मै चितवनमा डेगी निस्किएको थियो । सन् २०१० मा चितवन र रुपन्देहीमा डेंगीले महामारीको रुप लिएको थियो ।

त्यसपछि प्रायजसो चितवनमा तीन वर्षको अन्तरालमा डेंगीले समस्याको रुप लिने गरेको छ । चितवनमा गत आर्थिक वर्षमा १ हजार १५३ जनामा डेंगी संक्रमण भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले बताए । तर मृत्यु कसैको भएको थिएन । चितवनमा आर्थिक वर्ष ०७६/७७ मा हालसम्म कै सबैभन्दा धेरै ४ हजार ८०३ जनामा डेंगी देखिएको थियो । त्यो वर्ष तीन जनाको निधन भएको थियो ।

गत वर्षको तथ्याङ्क हेर्दा डेंगीको जोखिम कात्तिक महिनासम्म उच्च रहने पटेल बताउँछन् । डेंगी संक्रमण भएमा उच्च ज्वरो आउँछ । यसका साथै हड्डी दुख्ने, आँखाको गेडी र शरिर पनि दुख्छ । यी लक्षणहरु भएमा डेंगी परीक्षण गराउनका लागि बेलैमा विज्ञ स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने जनस्वास्थ्य अधिकृत पटेलले बताए । बेलैमा उपचार नभएर संक्रमणले स्वास्थ्यमा जटिलता थपे ज्यानसमेत जान सक्छ ।

प्रकाशित : भाद्र २८, २०८१ १६:२५
×