कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

घोँगीसँगै सेलरोटी बेच्दै मेनुका र इन्द्रकुमारी

भाद्र २७, २०८१
घोँगीसँगै सेलरोटी बेच्दै मेनुका र इन्द्रकुमारी

चितवन — माडी नगरपालिका–१ को बरुवा बजारनजिक चितई खोलाको आडमा रहेको खेल मैदानमा भदौ १० देखि २१ गतेसम्म स्टार कप फुटबल प्रतियोगिता संचालन भयो । त्यतिबेला यहाँका मेनुका महतो र इन्द्रकुमारी महतो पनि खुबै व्यस्त रहे । सेलराेटी, तरकारी र घोँगी बेच्न उनीहरुलाई भ्याइनभ्याइ भयो ।

आफ्नो जग्गाजमिन नभएको र अर्काको जग्गा अँधियामा खेती गरेका उनीहरूले भर्खरै भर्खरै चिया खाजा बेच्न सुरु गरेका हुन् । त्यसैले मान्छेको जमघट हुने मेला–महोत्सव र खेलकुद कार्यक्रम हुने स्थलमा पुग्न उनीहरूले छुटाउँदैनन् । सेलरोटी र तरकारीसहित घोँगीको परिकार लिएर पुगिहाल्छन् । ‘हाम्रा लागि मेला–महोत्सव र खेल उत्सव कमाइ गर्ने राम्रो मौका हो,’ मेनुकाले भनिन् ।

गत वर्षको जेठमा टोलभरिका महिला भेला भएर शान्ति महिला समूह गठन गरी आय आर्जनका विषयमा तालिम लिएका उनीहरूले त्यसपछि मात्रै यो व्यवसाय सुरु गरेका हुन् । ‘समूहमा हामी २५ जना छौं । दुई जना दलित समुदायका हुनुहुन्छ,’ समूहकी सचिव इन्द्रकुमारीले भनिन्, ‘अरू सबै थारु समुदायका हौं । प्रायः भूमिहीन नै छौं । आफ्नो नाममा जग्गा भएकाहरूको पनि उही छाप्रो हाल्न मिल्नेसम्म जग्गा छ ।’

कम पैसामा के काम सुरु गर्न सकिन्छ होला भनेर घोत्लिँदा मेनुका र इन्द्रकुमारी दुई जना मिलेर सेलरोटी–तरकारी बेच्ने निधो गरे । बजारमा सेलरोटी र तरकारी राम्रैसँग बिक्री भएको उनीहरूले देखेका थिए । तर, थारु समुदायका महिलालाई सेलरोटी पकाउने बानी थिएन ।

‘हामीले तेलमा सेलरोटी खासै पकाउँदैनौं । थारु समुदायको रोटी भनेको चामलको मिठोको लाम्चा आकार बनाएर बाफमा पकाउने रोटी हो,’ मेनुकाले भनिन् । थारु समुदायभित्र यस्तै रोटी खाने चलन छ । तर, पसल नै राखेपछि अरूले बफाएका रोटी खालान् या नखालान् भन्ने दुविधा भयो । त्यसैले उनीहरूले सेलरोटी बनाउने विचार गरे । सेल पकाउन जानेका गाउँ छिमेकका महिलाहरूलाई कसरी बनाउने हो भनेर सोधे । उनीहरूले भने अनुसार पिठो, चिनी, घ्यु सबै मिलाएर रोटी बनाउन सुरु गरे । तर, सेलरोटी खासै राम्रा बनेनन् ।

‘सुरुमा बनाएका सेल राम्रा भएनन् । राम्रो सेल कसरी बनाउने हो भनेर सोध्यौं । उहाँहरूले सिकाए अनुसार पहिला घ्यु र चिनी मज्जाले फिट्ने र पछि पिठो मिसाउँदै गयौं । यसरी बनाउँदा सेलरोटी राम्रा बने,’ मेनुकाले भनिन् । तीजको दिन पारेर माडीमा नाच्न गाउन मान्छेहरू भेला हुन्छन् । तीजमा उनीहरूले मज्जाले सेलरोटी बेचे । मान्छेले मन पराए । त्यसपछि मान्छे भेला हुने कुनै कार्यक्रम भयो भने उनीहरू सेलरोटी, तरकारी, सुन्तला, बदाम पकौडा बेच्न पुगिहाल्छन् । शिवरात्रि मेलामा आफूहरूले १५ हजार रुपैयाँ बराबर बचाएको उनीहरूले सुनाए ।

‘कमाइ ठूलो छैन, सिक्दैछौं । बिस्तारै बिस्तारै बढाउँदै लैजाने छौं,’ इन्द्रकुमारीले भनिन् । फुटबल प्रतियोगितामा सरदर दिनको चार हजार रुपैयाँका दरले खाजा बिक्री भयो । यही मेसोमा कुशे औंसी पर्‍यो । त्यस दिन उनीहरूले बिहान पनि सेलरोटी पकाए, राम्रै बिक्री भयो । जग्गा जमिन नभए पनि सीपले स्वाबलम्बी बन्ने ध्याउन्नमा उनीहरू छन् । ‘हाम्रो समूहमा जेजति महिलाहरू छन् नि तीमध्ये प्रायःका श्रीमान्ले हामीलाई काममा सघाएका छैनन् । घरका अरू काम पनि हामी आफैंले भ्याउनु परेको छ,’ समूहकी अध्यक्ष रहेकी मेनुकाले बताइन् ।

घर खर्च चलाउन, छोराछोरी पढाउन पनि केही न केही काम गर्नैपर्ने अवस्था थियो । त्यसैले सेलरोटी बनाएर बेच्न सुरु गरेको मेनुकाले बताइन् । सेलरोटीसँगै थारु समुदायको विशेष खान्की घोँगी पनि पकाएर बेच्छन् । घोँगी थारु समुदायको भान्सामा पाक्ने परिकार हो । अचेल अरूले पनि धेरै नै रुचाउँछन् । ‘फुटबल हेर्न आउने धेरैले सेलरोटीसँगै घोँगी पनि खाए । कसैले त घोँगी पकाउने तरिका पनि सिक्न खोजे,’ इन्द्रकुमारीले भनिन् ।

समूहकै सदस्य राजकुमारी महतोका श्रीमान् ट्रक चालक हुन् । तर, कम्मरमा समस्या आएपछि उनी काम छाडेर घरमै बसेका छन् । ‘अहिले मैले थोरै भए पनि ब्रोइलर कुखुरा पाल्न सुरु गरेकी छु । समूहमा बसेपछि साथीहरूको कुरा सुन्दा उत्साहित भइँदो रहेछ र काम गर्ने आँट बढ्दो रहेछ,’ राजकुमारीले भनिन् ।

मेनुका र इन्द्रकुमारीले सेलरोटी बेच्न सुरु गरेको एक वर्ष हुँदै गर्दा धेरै कुरा सिकेका छन् । ‘पहिलो कुरा त काम सुरु गरेपछि थप कुरा सिक्दै अगाडि बढ्न सकिन्छ भन्ने थाहा भयो । अब हामीलाई मेला र जमघटहरूमा मात्रै होइन, एउटा ठेला राखेर दिनदिनै खाजा बेच्ने सोच आएको छ,’ मेनुकाले भनिन् ।

प्रकाशित : भाद्र २७, २०८१ १६:५९
×