वन्यजन्तुबाट किसानलाई हैरानी
Highlights
- 'पाकेको बाली वन्यजन्तुले खाइदिन्छन्, राहत समेत पाउँदैनन् किसान'
काभ्रे — मध्यान्नको चर्को घाम । सिउरानीका जगतबहादुर लामाका दम्पती आफूले लगाएको बाली (मकै) हेर्नका लागि बारीमा पुगे । बारीको पाटोछेउमै ढलेको मकैको बोटलाई नियाले । मकैको बोटको एक घोकामा एक/दुई दाना मात्रै बाँकी छन् । जति पाइला अघि सार्छन्, उति नै मन पोल्दै जान्छ ।
पाटाभरिका मकैका हरेक बोट उस्तै । कुनै सद्दे थिएनन् । ढलेको मकैको बोटका घोकामा एक/दुई दाना मात्रै बाँकी थिए । चर्को घामले जगत दम्पतीलाई त्यति पोलेको थिएन, जति पाक्न थालेको बाली नष्ट भएको देखेर उनीहरूको मन पोलिरहेको थियो ।
बेथानचोक गाउँपालिका सिउरानीका अधिकांश किसानका बारीमा अहिले यस्तै दृश्य देखिन्छ । वन्यजन्तु (बाँदर, बँदेल, दुम्सी, मृग)ले फल लागेका बालीनाली नष्ट गरेर किसानलाई दुःख दिइरहेको अवस्था छ । सिउरानीका किसानका बारीमा मकैका बोट सद्दे भेटिंदैनन् । केही बाँदरले त केही बदेँलले मकैबाली नष्ट गरेका छन् ।
त्यसो त यहाँका किसानले वन्यजन्तुबाट दुःख र हैरानी खेपेको यो पहिलो पटक भने होइन । यसअघिका ३ वर्ष पनि उनीहरुले यस्तै दुःख झेल्दै आएका छन् । ‘चार वर्ष भयो बारीबाट एक डोको मकै लान पाएका छैनौं,’ जगतले भने, ‘बँदेलले मकैबाली सोत्तर बनाएको छ, एक घोका मकै पनि सद्दे छैन, आफू के खाने ? वस्तुलाई के खुवाउने ?’
बँदेललाई बारीमा पस्न नदिन उनले अनेकन उपाय अपनाए । आफूलाई थाहा भएको जति उपाय सबै लगाउँदा पनि बँदेलबाट बाली जोगाउन नसकेको उनले बताए । ‘बारी छेउमा घेरा–बार लगाउँदा हुन्छ भन्ने सुनियो, त्यही अनुसार घेराबार पनि लगाइयो । तर भएन। बन्दुक पड्काउँदा हुन्छ भन्ने सुनेर, त्यो पनि गरियो, त्यो जुक्तिले पनि काम गरेन,’ उनले भने, ‘बँदेल आउँछ राति, बँदेल कुरेर रातभर जागराम बस्न सकिदैंन, एक/दुई दिन भए पो कुर्नु, कति दिन कुर्ने ?’
उनका अनुसार, बँदेलले मकै बारीमै ओढार बनाएर बसेको छ । ‘सबै बोटको मकै दार्दै छोड्दै गर्ने रहेछ,’ उनले भने, ‘मकै मात्रै खाएर बोट सद्दे राखिदिए त हुन्थ्यो, बोट पनि सोत्तर नै बनाउने रहेछ, बँदेलले नष्ट गरेको त्यो बाली वस्तुले पनि नखाने रहेछ ।’
बँदेलले मात्रै नभएर बाँदर, दुम्सी र मृगले पनि निकै दुःख दिने गरेको उनी सुनाउँछन् । खेतीपाती बाहेक अन्य आम्दानीको श्रोत नहुँदा बालीमा वन्यजन्तुले विनाश गर्दा धेरै समस्या भएको उनले बताए । यस वर्ष त वन्यजन्तुले केही दुःख दिँदैन कि भन्ने जगत दम्पतीलाई लागेको थियो ।
‘यस वर्ष पनि एक घोगा मकै घर लान पाइएन,’ उनले भने, ‘करिब ५ रोपनी क्षेत्रफलमा बाली लगाएको छु, एक छेउमा मात्रै बँदेलले भेटेको छैन, बाँकी ठाउँमा त सखाप नै पारेको छ, बर्सेनि १०/१५ हजार खर्च गरेर मकै लगाएका हुन्छौं, खर्च सबै खेर जान्छ ।’ अब अर्को साल बाली नलगाउने उनले योजना बनाएका छन् ।
बालीमा वन्यजन्तुले नष्ट गरेमा क्षतिपूर्ति वापतको रकम पाइन्छ भन्ने उनीहरुले सुनेका छन् । तर, कसरी पाइन्छ, प्रक्रिया के छ ? भन्ने बारेमा उनीहरुलाई केही जानकारी छैन । ‘१० हजार रुपैयाँ पाइन्छ भन्ने सुनेका छौं,’ उनले भने, ‘कहाँ/कसरी पाइन्छ भन्ने केही थाहा छैन, १० हजारको लागि १० तिर धाउनुपर्छ भन्छन्, त्यो पनि पाउने हो कि होइन, केही थाहा छैन ।’
बेथानचोक–६,सिउरानीकी बिनिता तामाङले पनि उस्तै समस्या झेलिरहेकी छिन् । दुई वर्षदेखि बाँदर र बदेंलले बालीमा दुःख दिएको उनले बताइन् । ‘पहिले–पहिले त बाँदर, बँदेलले यसरी दुःख दिएको थाहा थिएन,’ उनले भनिन्, ‘दुई वर्ष यता त बाँदर र बँदेलले निकै दुःख दिएको छ, बाली नै सखाप पारेको छ ।’ उनका अनुसार, पहिले पहिले यहीँ बारीको पाटोबाट १८ डोको समेत मकै लागिन्थ्यो । बदेंलले मकै नास गरेर पोहोर पनि दुई डोको मात्रै लगेको हो ।
यस वर्ष दुई डोको मकै पनि हुने/नहुनेमा उनलाई चिन्ता छ । वन्यजन्तुले बाली नास गरेमा त्यसबापतको क्षतिपूर्ति पाइन्छ भन्ने कुरा बिनिताले पनि सुनेकी छिन् । तर, क्षतिपूर्तिबापतको रकम पाइन्छ भन्नेमा विश्वास उनलाई लागेको छैन ।
त्यस्तै, बेथानचोक–६, सिउरानीका काजी तामाङलाई अब बाली लगाउने/नलगाउने भन्नेमा दोधार भएको छ । ‘बाली लगाउ वन्यजन्तुले नाश गर्छ, नलगाउँ अरु आम्दानीको श्रोत केही छैन,’ उनले भने, ‘आफूले जानेको यहीँ कृषि कर्म हो, यस बाहेक अरु सीप पनि छैन, उमेर पनि ढल्किदै गयो, अब यहीँ कृषि पनि गर्न नसकिने स्थिती भइसक्यो ।’
पुर्खौदेखि खेतीकिसान गर्दै आएको र अहिले वन्यजन्तुको बालीमा नाश गर्दा कृषि कर्म नै गर्न गाह्रो भएको बेथानचोक गाउँपालिका वडा नं २, चोरण्डेकी जमुना तिमल्सिनाले बताइन् ।
वन्यजन्तुले अहिले पालिकाका ६ वटै वडाका किसानलाई दुःख दिइरहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनले भने, 'कृषि नै यहाँ आम्दानीको प्रमुख श्रोत हो । बाँदर, बँदेल, मृग, दुम्सी लगायतका वन्यजन्तुले बाली नाश गरेर किसानलाई दुःख दिइरहेको छ ।'
बेथानचोक गाउँपालिकामा मात्र नभएर बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, भुम्लु गाउँपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका र चौंरीदेउराली गाउँपालिकामा समेत वन्यजन्तुले बालीमा ठूलो नोक्सान पुर्याएको स्थानीय कृषकले गुनासो गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय धुलिखेलका वन अधिकृत एवं सूचना अधिकारी सरिता लामाका अनुसार, पछिल्लो केही वर्ष यता जिल्लाका अधिकांश स्थानमा वन्यजन्तुले कृषि बालीमा नोक्सानी गरेको विवरण प्राप्त भएको छ । कृषिबालीमा वन्यजन्तुले गरेको नोक्सानीबाट किसानले क्षतिपूर्ति बापतको रकम प्रदान गर्ने निर्णय भएपश्चात क्षतिपूर्ति माग गर्ने किसानहरुको संख्यामा बृद्धि भएको उनले बताइन् ।
उनका अनुसार, कार्यालयको ५ वर्षको विवरणमा काभ्रेमा पछिल्लो केही वर्ष यता वन्यजन्तुले मानविय, पशुधन र कृषि बाली नोक्सानीको क्षतिपूर्ति माग गर्ने किसानको संख्यामा बृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २१ जना किसानले क्षतिपूर्ति रकम माग गरेकोमा २ लाख ५८ हजार २ सय रुपैंया क्षतिपूर्ति रकम प्रदान गरिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७७/०७८मा १२५ जना किसानले क्षतिपूर्ति रकम माग गरेकोमा १३ लाख ७५ हजार ३६७ रुपैंया क्षतिपूर्ति रकम प्रदान गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९मा २६३ जना किसानले क्षतिपूर्ति रकम माग गरेकोमा २७ लाख ७० हजार १७४ रुपैंया क्षतिपूर्ति रकम प्रदान गरिएको थियो।
त्यस्तै,आर्थिक वर्ष २०७९/०८०मा ३८५ जना किसानले क्षतिपूर्ति रकम माग गरेकोमा ४३ लाख १७ हजार ३३२ रुपैंया क्षतिपूर्ति रकम प्रदान गरिएको थियो । आर्थिक वर्ष २०८०/०८१मा ४७९ जना किसानले क्षतिपूर्ति रकम माग गरेकोमा ५ लाख ८ हजार रुपैंया क्षतिपूर्ति रकम प्रदान गरिएको थियो ।
उनका अनुसार, काभ्रेका १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाबाट धेरै किसानहरुले वन्यजन्तुबाट मानवीय, पशुधन र कृषिबालीमा नोक्सानी गरेको भन्दै क्षतिपूर्ति रकम माग गर्दै आएका छन् । किसानमार्फत कार्यालयमा आइपुगेका क्षतिपूर्ति रकम मागको विवरण प्रमाणीकरण गरेर वन निर्देशनालयको प्रदेश र केन्द्रिय कार्यालयमा पेश गरिएपनि केन्द्रबाट नै रकम निकासी नभएकाले किसानले क्षतिपूर्ति रकम प्राप्त नगरेको उनको भनाइ थियो ।
वन्यजन्तुले बाली नोक्सान गरेमा किसानलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सरकारले जारी गरेको निर्देशिकामा निजी जमिनमा लगाएको बालीमा वन्यजन्तुले क्षति गरेमा राहत दिने उल्लेख छ । एक मौसममा लगाइएको बालीको एक पटक र वर्षमा दुई पटकमा नबढ्ने गरी बढीमा १० हजार रुपैयाा राहत दिने व्यवस्था निर्देशिकामा छ ।
बाँदर, नीलगाई, बँदेल, अर्ना, भालु, गैंडा र हात्तीले बाली नोक्सान गरेमा पीडित किसानलाई राहत दिइने निर्देशिकामा छ । तर, यो रकम निकै कम भएको किसानको गुनासो छ । अर्कोतिर निर्देशिका अनुसार क्षतिपूर्तिका लागि प्रक्रिया पनि निकै झन्झटिलो भएको गुनासो किसानको छ ।
प्रकाशित : भाद्र २७, २०८१ १९:२०