कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

क्षतिग्रस्त बोलेरो भोटेकोसीमा आधा डुबेको अवस्थामा फेला

भाद्र २८, २०८१
क्षतिग्रस्त बोलेरो भोटेकोसीमा आधा डुबेको अवस्थामा फेला

​सिन्धुपाल्चोक — उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे-तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोसी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको छ । इलाका प्रहरी बाह्रबिसेका अनुसार शुक्रबार बिहान भोटेकोसी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियोे ।

स्थानीयबाट त्यो खबर पाएलगत्तै सुरक्षाकर्मी र जनप्रतिनिधि घटनास्थलमा पुगेका छन् । बोर्डरल्याण्ड रिसोर्टनजिक भोटेकोसी छ्याक्सामा ५० मिटर तल खसेको ध्वस्त बोलेरो भेटिएपनि घटनाबारे यथार्थ विवरण नखुलेको जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक निरञ्जन भट्टराईले बताए ।

'कसरी दुर्घटना भयो, यति नम्बरको बोलेरो, यति जना भन्ने केही कुरा खुलेको छैन। भोटेकोशीमा सवारी पुरै डुबेकाे छ, दुई वटा टायर मात्रै देखिएको छ, नम्बर प्लेट प्रष्ट देखिएको छैन, बोलेरो निकालिएपछि मात्रै के हो भन्न सकिन्छ,' उनले भने ।

स्थानीयसँगको सोधपुछका आधारमा बोलेरो बिहीबार बेलुकानै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अहिले सशस्त्र प्रहरी बल, नेपाली सेनाको उद्वारको टिम बोलेरो निकाल्न खटिएका छन् । बाह्रबिसे नगरपालिकाकी उपमेयर मन्जु तामाङले मध्य भाेटेकोशीबाट एउटा क्रेन मगाएर नदीमा देखिएको बोलेरो बाहिर निकाल्ने प्रयास भइरहेको बताइन् । शुक्रबार दिउँसोबाट नदीछेउ फसेको बोलेरो निकाल्न प्रयास भइरहेको भएपनि धेरै तल भएकोले गाह्रो भइरहेको छ।

'चार पटक प्रयास भयो, वर्षाका कारण बहाव बढ्दा क्षतिग्रस्त बोलेरो निकाल्न सकिएको छैन,' उक्त नगरपालिकाकी उपमेयर तामाङले भनिन् ।

प्रकाशित : भाद्र २८, २०८१ १७:१६
×