कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

भोटेकोसीमा खसेको बोलेरो ७ घण्टापछि निकालियो, चालकसहित एक महिला बेपत्ता

भाद्र २८, २०८१
भोटेकोसीमा खसेको बोलेरो ७ घण्टापछि निकालियो, चालकसहित एक महिला बेपत्ता

​सिन्धुपाल्चोक — उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा फेला परेको क्षतिग्रस्त बोलेरो गाडी ७ घण्टापछि नदीबाट निकालिएको छ । गाडीका चालक र उक्त गाडीमा सवार एक महिला भने बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराेका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन् । उनीसहित बोलेरोमा बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ सवार थिइन् । दुवै फोन सम्पर्कमा नआएको भनी आफन्त मार्फत् जानकारी पाइएको डीएसपी निरञ्जन भट्टराईले बताए ।

'स्थानीय र आफन्तसँगको सोधपुछपछि दुवै बोलेरोमा सवार भएको खुलेको छ, तर नदीमा बोलेरो मात्रै फेला परेकाले अन्य विवरण खुल्न सकेको छैन, दुवै नदीमा बगेर बेपत्ता भएको देखिन्छ,' डीएसपी भट्टराईले भने ।

शुक्रबार बिहान बाह्रबिसे नगरपालिका- ६ बोर्डरल्याण्ड ढुङ्गाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोशी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेको कमाण्डमा ७ जनाको टोली खटिएका थिए भने सशस्य प्रहरी र स्थानीयबासी समेत उद्धारमा जुटेका थिए ।

मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मगाइएको एउटा क्रेनबाट पटक-पटक प्रयास असफल भएपनि साँझपख बोलेरो नदीबाट निकालिएको छ । 'बेपत्ता दुवैको प्रहरीले शंकास्पद स्थानमा खोजी गरिरहेकाे छ,' डीएसपी भट्टराईले भने ।

स्थानीय र आफन्तसँगको सोधपुछका आधारमा बोलेरो बिहीबार बेलुकानै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १९:४२
×