कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

विदेश भासिएका श्रीमान्‌लाई ‘सपनीमा देख्दै– बाटो कुर्दै’

भाद्र ११, २०८१
विदेश भासिएका श्रीमान्‌लाई ‘सपनीमा देख्दै– बाटो कुर्दै’

Highlights

  • चार छोरीकी आमा ४ वर्षदेखि ओछ्यानमै, कम्मरमुनिको भाग चल्दैन
  • बेपत्ता छोरा पर्खंर्दै वृद्ध बाआमा

रोल्पा — रोल्पा कोटगाउँ क्वाङ्गा गाउँकी देउमाली गुरुङले हर सपनामा आफ्ना श्रीमान् टेकसिंहलाई देखिरहन्छिन् । कहिले उनी विदेशमा कमाइ गरिरहेका हुन्छन् भने कहिले उनी परिवारसँग मिल्न घर आइपुगेका हुन्छन् । त्यतिमात्र होइन, टेकसिंहले वृद्ध बाआमा र श्रीमतीसहित ४ छोरीसँग भेटपछि रमाइरहेका हुन्छन् ।

यो उपक्रम देउमालीको सपना सिवाय विपनीमा मिल्दैन । यद्यपि, साना छोरीहरूले पनि पटक–पटक आफ्ना बुबालाई सपनामा देखेर कैयौंपटक रोएका छन् । आँशु झारेका छन् । सपनीमा देखिने टेकसिंहलाई वास्तवमा स्वागत गर्न उनीहरू बाटो कुरेर बसेका हुन् । तर, यथार्थमा ७ वर्षदेखि टेकसिंह न घर आएका छन्, न त विदेशको ठेगाना नै दिएका छन् । मात्रै घर परिवारबाट टाढिएर बसेको परिवारको निष्कर्ष छ ।

लामो समयदेखि उनको खोजी गर्दा कहींकतै पनि पत्ता नलागेको श्रीमती देउमाली गुनासो गर्छिन् । ४ वर्षदेखि ओछ्यान परेकी उनले एकातिर श्रीमान्‌काे प्रतीक्षा गरेको र अर्कातर्फ छोरीहरूलाई हुर्काउन समस्या भएको बताइन् । ‘अपांग भएकाले न घर राम्रोसँग चलाउन सकेकी छु, न त उपचार गर्दा आफूलाई सञ्चो भएको छ,’ ३९ वर्षीया देउमालीले गुनासो गरिन् ।

चिउरी टिप्न रुख चढेका बेला ४ वर्षअघि उनी एक्कासि खुट्टा चिप्लेर रुखबाट खसिन् र बेस्सरी बजारिइन् । ढुंगामाथि बजारिएकाले देउमालीको कम्मरमुनिको भाग नचल्ने भएको हो ।

४ वर्षअघिको त्यो घटना उनका लागि कहालीलाग्दो बनेको छ । कम्मरमुनिको जीउ नचल्ने भएपछि ४ छोरी र वृद्ध सासूससुराको पालनपोषणमा समस्या थपिएको छ । सन्चो बनाउन आफन्तले उनलाई विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याए । तर सन्चो भएन । त्यसयता उनी ओछ्यानमै छिन् ।

चिउरीका दाना टिपेर बेचेको पैसाले घर खर्च चलाउने उनको उद्देश्य थियो । त्यसै योजनाले देउमाली सधैंको वर्षामासमा झैं २०७७ असार महिनाको एक बिहान घरमुनिको जंगलमा चिउरीको रुख खोज्दै पुगिन् । ‘अग्लो रुखमा चढेकी थिएँ, भनन रिंगटा लाग्यो र रुखबाट खसेछु,’ उनी त्यस घटनाको सम्झना गर्छिन् । ढुंगामा बजारिएपछि उनी बेहोस बनेको उनलाई निकैपछि याद भएको थियो । घटना स्मरण गर्दै उनी भन्छिन्, ‘त्यसपछि मलाई आफन्तले धेरै अस्पतालमा पुर्‍याएर उपचार गराए तर आधा आङ नचल्ने भयो । उपचार गर्दा पनि पूर्ण रूपमा सन्चो भएन ।’

रोल्पा सदरमुकाम लिबाङमा बस्ने दिदीभिनाजु र बहिनीहरूले चन्दा संकलन गरेर देउमालीलाई दाङ, बुटवल र काठमाडौंका अस्पालसम्म पुर्‍याएका थिए । तैपनि, उनको आधा शरीर नचल्ने भयो । कम्मरमुनिको भाग नचल्दा उनी घस्रेर जीउ सार्छिन् । चार छोरीका साथ उनी लिबाङमा रहेको दिदी र भिनाजुको घरमा बस्दै आएकी छन् । देउमालीका चार छोरी १५ वर्षकी विरसा, १३ वर्षकी विभिका, ८ वर्षकी बीमा र ५ वर्षकी रिया छन् । उनीहरू खुब पढ्न चाहन्छन् तर आर्थिक अवस्था कमजोर छ । उनीहरू सबै देउमालीकी दिदीकै भरमा विद्यालय जान्छन् । खाने र लत्ताकपडाको व्यवस्था पनि दिदीकै भरमा छ ।

‘उसले काम गर्न नसक्ने भएपछि हामीसँगै बसालेका छौं । छोरीहरू पनि हामीसँगै छन्,’ देउमालीकी जेठी दिदी जुनकुमारी पुनमगर भन्छिन्, ‘उसलाई सघाउने कोही छैनन् । घरमा पठाएर अपांगता भएकी उसलाई कसले हेरचाह गर्छ र !’ अपांग भएपछि देउमाली आफ्नो घर क्वाङ्गामा जान सकेकी छैनन् । घरमा वृद्ध सासू–ससुरा मात्रै बस्छन् । तिनको हेरचाह गर्न नपाउँदा देउमालीको मन कुँडिन्छ । भन्छिन्, ‘बाआमाजस्ता सासू–ससुरा घरमा एक्लै बस्छन् । म अपांग भएपछि हेरचाह गर्न सकिनँ । म आफैंको यस्तो अवस्था छ । दुःख लाग्छ । मन रुन्छ सासू–ससुरालाई सम्झँदा पनि ।’ क्वाङ्गा गाउँको पुरानो घरमा ८१ वर्षका ससुरा पर्थ गुरुङ र ७५ वर्षकी सासू कीर्तु बस्छन् ।

देउमाली रुखबाट खसेर अपांग भएको खबर श्रीमान् टेकसिंह गुरुङलाई जानकारी उतिबेलै पुगेको हो । वैदेशिक रोजगारीका लागि सुरुमा कुवेत पुगेका उनी त्यसपछि बेखबर छन् । ‘त्यो खबर पाएपछि त उहाँ सम्पर्कविहीन हुनुभयो,’ देउमाली आँसु पुछ्दै दुःख पोख्छिन्, ‘जीवनमा सबैभन्दा दुःख पर्दा जीवनसाथी चाहिने हो । मलाई सहारा मिल्ला भनेर म अपांग भएको खबर पठायौं, उहाँ त झन् गायब हुनुभयो ।’ टेकसिंहले विदेश गएको सुरुको समयमा फोन र सामाजिक संजालमार्फत सम्पर्कमै थिए ।

‘ज्वाइँलाई बहिनी अपांग भएको खबर गरेपछि घर फर्कनुहुन्छ कि भन्ने लागेर सुरुमा हामीले आशा गरेर खबर गरेका थियौं,’ देउमालीकी दिदी जुनकुमारी भन्छिन्, ‘तर उहाँ त झन् बेखबर पो हुनु भयो ।’ सुरुमा सामाजिक संजालमार्फत घरको खबर बुझ्ने गरेका टेकसिंह अहिले घर–परिवारको सम्पर्कमै छैनन् । ‘घरमा अपांग श्रीमती, साना छोरीहरू र वृद्ध बाआमाको याद गरेजस्तो लाग्दैन । फर्केर आए राम्रो हुन्थ्यो,’ टेकसिंहका छिमेकी गायक इन्द्र पाखेमगर भन्छन् ।

घरमा रहेका वृद्धवृद्धालाई गाउँलेले साथ दिँदै आएका छन् । वृद्धवृद्धाहरू अपांग बुहारीलाई भेट्न कहिलेकाहीँ लिबाङमा आउने गर्छन् । टेकसिंहका वृद्ध आमाबाले पनि छोरा फर्केर घरमा अउने दिन कुरेर बसेका छन् । ‘बुहारी अपांग भइन् । कमाउन गएको छोरा फर्केर आएन । छोरालाई नभेटेर हामी बित्ने भयौं,’ टेकसिंहका ८१ वर्षीय बुबा पर्थले भने । छोरीहरू हुर्काउने बेलामा अपांग हुनु, सहाराविहीन अवस्थाका सासू–ससुराको हेरचाह गर्न नसक्नु र श्रीमान् पनि बेपत्ता हुनुले देउमाली निकै चिन्तित छन् । ‘चार छोरी जन्मेपछि छोरा किन जन्माइनस् भनेर ममाथि दोष लगाउनु हुन्थ्यो । त्यो पीडा सहँदै आएकी थिएँ,’ पुराना दिन स्मरण गर्दै उनी भन्छिन्, ‘तर, यसपटक त सम्पर्कमै नआएपछि अपांग भएको अवस्थामा थप पीडित हुनुपरेको छ ।’

हुर्कंदो उमेरका मायालु छोरीहरूको अनुहार हेर्दै अपांग जीवन बिताउने गरेको देउमालीको अनुभव छ । उनी भन्छिन्, ‘म अपांग भएँ, छोरीहरूलाई पढाइलेखाइ गराउनुपर्ने जिम्मेवारी छ । श्रीमान् विदेशबाट फर्केर आए बरु यतै दुःखजिलो गरेर बस्न सकिन्थ्यो ।’ विदेशमा गएपछि पैसा र खबर नपठाएर उतै भासिएका श्रीमान्सँग उनको आग्रह छ, ‘फर्केर आउनूस् । छोरीहरू, म र बाआमाको असिम प्रेम तपाईंप्रति छ । कमाइ नभए पनि यतै केही गरेर बसौंला, जीवन निर्वाह गरौंला ।’

प्रकाशित : भाद्र ११, २०८१ १७:३०
x
×