कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

महिना दिन नबित्दै भत्कियो कालोपत्र

लक्ष्मी गौतम

पाँचथर — मेची राजमार्गअन्तर्गत जोरपोखरी–गोपेटार सडक खण्ड कालोपत्र गरेको एक महिना नबित्दै भत्केको छ । असार पहिलो साता गरिएको कालोपत्र उप्केर वर्खामा पानी बगेपछि यस सडक खण्डका अधिकांश स्थानमा सवारी र ढुवानीका साधन आउजाउमा कठिनाइ भएको छ । सडकका केही स्थानमा छेउदेखि भित्तासम्म पूरै कालोपत्र उप्किएपछि हिलो थुप्रेको छ भने केही स्थानमा ठूल्ठूला खाल्डा परेका छन् ।

महिना दिन नबित्दै भत्कियो कालोपत्र

‘कालोपत्र गरेलगत्तै खण्डहर भएपछि अधिकांश स्थानमा गाडी गुडाउन त परै जाओस्, पैदल यात्रा गर्नसमेत सकिँदैन,’ स्थानीय हरिराज लोवाले भने । चिस्यान क्षेत्रमा पर्ने जोरपोखरी गोपेटार खण्डमा वर्षा सुरु हुनै लाग्दा कालोपत्र गरिएको थियो । लगत्तै अधिक भार बहन क्षमताका ढुवानी साधन गुडाइएकाले सडकको यो हालत भएको उनले बताए ।

फिदिमस्थित सञ्जीव निर्माण सेवाले आठ किलोमिटर सडक कालोपत्र गर्न डिभिजन सडक कार्यालय इलामसँग ३ करोड रुपैयाँमा सम्झौता गरेको हो । आठ किलोमिटरमध्ये जोरपोखरीदेखि गोपेटार जोड्ने एक किलोमिटर सडक कामै नलाग्ने गरी भत्किएको स्थानीय सवारी चालक विजय तामाङले बताए । ‘एक महिनाअगाडि आउँदा धमाधम काम भइरहेको थियो, अहिले त कालोपत्रको नामोनिसान देखिंदैन, खाल्डाखुल्डी र हिलोमा गाडी कुदाउन हम्मेहम्मे पर्‍यो,’ उनले भने ।

अर्का चालक मिलन विश्वकर्माले कालोपत्र गरेको दुई दिनमै सडक भत्किएको देखेर आफूहरूले जनप्रतिनिधि र निर्माण व्यवसायीलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । ‘सडक भत्किन थालेको छ, त्रुटि पत्ता लगाएर मर्मत गर्न अनुरोध गर्दा ठेकेदार चलेगा भनेर पन्छिए, हेर्दाहेर्दै या हालत भयो,’ विश्वकर्माले भने ।

निर्माण व्यवसायी र सडक डिभिजन इलामबीच भएको सम्झौतामा सडकमा २ सेन्टिमिटर कालोपत्र गर्नुपर्ने उल्लेख छ । कालोपत्र गर्ने जिम्मेवारी लिएको सञ्जीव निर्माण सेवाका सञ्चालक वीरेन्द्र श्रेष्ठ अत्यधिक वर्षाका कारण जमिनमुनि पलाएको पानीले कालोपत्र बगाएको दाबी गर्छन् । ‘गुणस्तरहीन काम गरेको भए ८ किलोमिटर सडकको पूरै भाग बिग्रन्थ्यो, एक किलोमिटर हाराहारी सडकमा मात्रै यस्तो समस्या आएको हो, ठेकेदारले कमजोरी गर्‍यो भन्दा पनि किन र कसरी कालोपत्र भत्कियो भनेर प्राविधिक अध्ययन गर्नु राम्रो होला कि ?’ श्रेष्ठले भने ।

कामको अनुगमन गर्ने जिम्मेवारी पाएको सडक डिभिजन इलामका इन्जिनियर विपिन ढुंगानाले काम नसक्दै खण्डहर भएको सडकमा निर्माण व्यवसायीले पुनः कालोपत्र गर्नुपर्ने बताए । ‘बिग्रिएको सडक खण्डको प्राविधिक मूल्यांकन गरी भुक्तानी रोकेका छौं, पुनः काम नगरेसम्म फर्स्यौट गर्दैर्नौं,’ ढुंगानाले भने । यो सडक भएर दैनिक तीन सय हाराहारी यात्रु र मालवाहक साधन गुड्छन् ।


प्रकाशित : श्रावण १२, २०८१ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×