कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अधिकारकर्मीद्वारा पाँचथर बम विस्फोट क्षेत्र अनुगमन र पीडितसँग भेटघाट 

भाद्र २१, २०८१
अधिकारकर्मीद्वारा पाँचथर बम विस्फोट क्षेत्र अनुगमन र पीडितसँग भेटघाट 

पाँचथर — मानव अधिकार र बाल अधिकारका क्षेत्रमा क्रियाशील दुईवटा संस्थाले दुई बालबालिकाको ज्यान जाने गरी विस्फोट भएको पाँचथरको फालेलुङ-५ प्राङबुङस्थित डाँडागाउँमा स्थलगत अध्ययनसँगै ज्यान गुमाएका र घाइते भएका बालबालिकाका आफनतसँग भेटघाट गरेका छन् ।

विस्फोट भएको एकसाता पुग्दा विराटनगरस्थित मानव अधिकारवादी संस्था इन्सेक र बालबालिकाका क्षेत्रमा क्रियाशील सिविन नेपालको प्रादेशिक कार्यालयबाट आएको टोलीले स्थलगत अध्ययन गर्दै घटनाको जानकारी लिएको हो । टोलीले विस्फोटमा ज्यान गुमाएका दिप्सन र प्रिन्सा साँवाका अभिभावक दिलीप र पूजा साँवा, घाइते पवन र दिप्सन राईका अभिभावक ज्ञानबहादुर र दिपक राईसहित घटनास्थल आसपासका नागरिकसँग भेटघाट गरेको हो ।

भेटघाटका क्रममा धेरैजसो स्थानीयले बेवारिसे बम सशस्त्र द्वन्द्वमा प्रयोग गरेर उचित व्यवस्थापन हुन नसक्दा घटना भएको बताएका छन् । मृतक दिप्सन र प्रिन्साकी आमा पूजा साँवाले विस्फोटका कारण आफ्ना दुई जना सन्ततीको ज्यान गएको भन्दै घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् ।

‘दुवैजना छोराछोरी मरे । मेरो कोख रित्तियो, बम कहिले र कसले बेवारिसे अवस्थामा छोडेको हो ? राज्यले छानबिन गरोस्, अरु निर्दोष मर्न नपरोस्,’ उनले भनिन् ।

भदौ १३ गते बिहीबार दिउँसो स्थानीय आइतराज केरुङको घरमा विस्फोट हुँदा स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाइ वर्षीया छोरी प्रिन्सा साँवाको निधन भएको थियो । स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र दिपक राईका छोरा दिप्सन घाइते छन् । उनीहरुको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।


विस्फोट भएको घर पूर्वमाओवादी कार्यकर्ता आइतराज केरुङ (आइवी) को हो । हाल सो घरमा स्थानीय ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । केरुङ परिवार भने २०६८ सालदेखि सदरमुकाम फिदिममा बसिरहेको छ । स्थानीय जनप्रतिनिधि सो घर द्वन्द्वकालमा माओवादीको सेल्टरका रुपमा रहेको बताउँछन् ।

फालेलुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गीले बम द्वन्द्वका समयमा माओवादीले लुकाएर राखेको र सही ढंगले व्यवस्थापन नगर्दा केटाकेटीले भेटेर खेलाँउदा विस्फोट भएको बताए ।

वडा सदस्य मानबहादुर थाम्सुहाङले प्राङवुङ क्षेत्रमा अरु पनि बेवारिसे बम हुनसक्ने भन्दै सम्भावित स्थानमा खोजपड्ताल गरी निष्क्रिय पार्नुपर्ने सुझाव दिए ।

अधिकारकर्मीहरुको टोलीमा इन्सेकक विराटनगर कार्यालयका मनोहर पोखरेल र पुण्य अधिकारीसँगै सिविन विराटनगरका प्रमुख बासु अधिकारी र मनोपरामर्शकर्ता सलिना सापकोटा लगायत सहभागी थिए । घटनास्थल अध्ययनपछि संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरुले घटनाको प्रभावकारी छानबिन, पीडितलाई न्यायिक कारबाही, घाइतेको उपचार र मृतक परिवारलाई न्याय दिन राज्यले कुनै कसुर बाँकी नराख्न राज्यसँग माग गरेका छन् ।

यस्ता घटना दोहोरिन नदिन विद्यालय र समुदायस्तरमा सचेतना फैलाउनु पर्ने देखिएको इन्सेक विराटनगरका मनोहर पोखरेलले बताए । टोलीले जिल्लास्थित सुरक्षा निकाय र स्वास्थ्यकर्मीको टोलीसँग पनि छलफल गरेको छ । टोलीको समन्वयमा घाइते बालकहरुलाई काठमाडौं पठाइएको हो । बालक र उनीहरुका अविभावकलाई काठमाडौंसम्म पुर्‍याउने व्यवस्था गाउँपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्वेले जानकारी दिए । उपचारको प्रबन्ध सिविन नेपालले मिलाएको हो । उनीहरुको उपचार सहयोगार्थ आर्थिक संकलन पनि सुरु गरिएको छ ।

प्रकाशित : भाद्र २१, २०८१ ११:४९
×