कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

खोटाङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

भाद्र ३०, २०८१
खोटाङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

खोटाङ — जिल्ला कारागार खोटाङमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दीको क्षमता भए पनि झण्डै दोब्बर कैदी बन्दी छन् ।

कारागारका जेलर सोमप्रसाद आचार्यका अनुसार १ सय ५९ पुरुष र ३ महिला गरी १ सय ६२ कैदीबन्दी छन् । यीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी छन् । जबर्जस्ती करणी मुद्दाका ५३ पुरुषले कैद भुक्तान गरिरहेको आचार्यले बताए ।

जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका ७ जना छन् भने हाडनाता करणी मुद्दाका १५ जनाले कैद भुक्तान गरिरहेका छन् । कर्तव्य ज्यान मुद्दामा ३६ पुरुष, नागरिकता किर्ते मुद्दामा ८ पुरुष, बैंकिङ कसुरसम्बन्धी मुद्दामा १ महिला र ३ पुरुष तथा सवारी ज्यान मुद्दाका १ महिला र ५ पुरुषले जेल भुक्तान गरिरहेका छन् ।

लागूऔषध हिरोइन र गाँजा मुद्दामा ३, खुनडाँका मुद्दामा ३, सार्वजनिक स्थलमा अभद्र व्यवहार मुद्दामा ५ जना पुरुष छन् । मानव बेचबिखन, ठगी, हातहतियार तथा खरखजना, आगजनी, नकवजनी चोरीलगायत मुद्दामा २१ जना कैदीबन्दीले जेलजीवन बिताइरहेको आचार्यले सुनाए ।

पछिल्लो अवधिमा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेपछि कारागारमा कैदीबन्दीको संख्या वृद्धि भएको आचार्यले बताए । आर्थिक वर्ष २०८०/८१ मा विभिन्न मुद्दामा दोषी ठहरिएका १ सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालु आर्थिक वर्ष पनि अदालतले दोषी ठहराएका फरार सूचीका १३ पुरुष र २ महिला पक्राउ परेका छन् । यसबाहेक चालु आर्थिक वर्षमा विभिन्न मुद्दामा ३५ पुरुष र १ महिला गरी ३६ जना र फरार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खान, बस्न र सुत्नसमेत समस्या भएको आचार्यको भनाइ छ । ‘कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खान, बस्न, सुत्न पनि समस्या छ,’ आचार्यले भने, ‘ठाउँ नपुगेर कैदीबन्दीले सञ्चालन गरेको ढाका–टोपी, बेदबाँसका काम गर्ने ठाउँ सारेर पुरुष कैदीबन्दी राख्ने तयारी गरिएको छ ।’

प्रकाशित : भाद्र ३०, २०८१ १७:४७
x
×