कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

अविरल वर्षाले खोटाङका अधिकांश सडक अवरुद्ध

भाद्र २०, २०८१
अविरल वर्षाले खोटाङका अधिकांश सडक अवरुद्ध

खोटाङ — अविरल वर्षाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्गलगायत ग्रामीण सडकहरू बिहीबार बिहानदेखि अवरुद्ध भएका हुन् ।

मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको बर्खेटार लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । यसमध्ये भालुखोलाको पहिरो सडक विभागको डोजरले पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

वर्षाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित एउटा पेट्रोल पम्पमा क्षति पुर्‍याएको छ । पेट्रोलको ट्याङ्की राख्ने ठाउँमा लेदो पसेर ट्याङ्की पुरिएको कार्कीले बताए । दिक्तेल र बाम्राङको बीचमा पर्ने खोल्सीको ढल थुनिएर दिक्तेल बजारमा भल पसेको छ । बुधबारदेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको कार्कीले सुनाए ।

सदरमुकाम दिक्तेल–पञ्चमी, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क लगायतका ग्रामीण सडक अवरुद्ध भएका छन् । सगरमाथा लोकमार्ग (दिक्तेल–गाइघाट) सडक पनि अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा बिहीबार बिदा दिएको नगर उपप्रमुख विसन राईले बताए ।

प्रकाशित : भाद्र २०, २०८१ १४:५५
x
×