कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खोटाङमा पहिरोले १० परिवार विस्थापित, ५७ लाखको क्षति

भाद्र २१, २०८१
खोटाङमा पहिरोले १० परिवार विस्थापित, ५७ लाखको क्षति

खोटाङ — पहिरोले जिल्लाभर १० घर परिवार विस्थापित भएका छन् । बुधबार र बिहीबारको अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा १० घर परिवारका ५० जना विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार ऐसेलुखर्क गाउँपालिका–४ का सुरेश तामाङ, सोमप्रसाद तामाङ र प्रेमबहादुर राईको घर भत्किँदा उनीहरूको परिवार विस्थापित भएका छन् । यसमध्ये सुरेशको ४ जना, सोमप्रसादको ६ जना र प्रेमबहादुरको ४ जनाको परिवार विस्थापित भएका हुन् ।

त्यस्तै, उक्त वडाकै कर्णबहादुर गिरी, मुगाधन राई, जुनुकुमाुरी राई, कन्याराज तामाङ र माचिन तामाङको घर पहिरोले क्षति पुर्‍याएपछि उनीहरूका परिवार विस्थापित भएका छन् । यसमध्ये कर्णबहादुरको ९ जनाको परिवार, मुगाधनको ५ जनाको परिवार, जुनुकुमारीको २ जनाको परिवार, कन्याराजको ४ जनाको परिवार र माचिनको ३ जनाको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

उक्त पालिकाकै वडा न–१ का रत्नबहादुर रम्तेलका परिवार पनि विस्थापित भएका छन् । उनका घर पहिरोको जोखिममा परेपछि ५ जनाको परिवार सहित विस्थापित भएका हुन् । रावाबेसी गाउँपालिका–६ हौचुर चाापखर्ककी पशुपति गुरुङको घर पहिरोले क्षति पुर्‍याउदा उनका ८ जनाका परिवार विस्थापित भएका छन् ।

पहिरोले ऐसेलुखर्क गाउँपालिकाको सभा हल, दिक्तेल बजारको खानेपानी लगायतमा पनि क्षति पुर्‍याएको छ । दिक्तेल बजारको खानेपानीको मुहानमा बाढीले क्षति गर्नुका साथै ठाउँ–ठाउँमा पहिरोले पाइपमा क्षति पुर्‍याएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज जोशीले बताए ।

‘बाढी तथा पहिरोले खानेपानीको मुहान र ठाउँ–ठाउँमा पहिरोले क्षति गरेको छ,’ जोशीले भने, ‘त्यसलाई मर्मत गरेर उपभोक्ताहरूलाई पानी दिने कोसिस गरिएको छ ।’ दुईको अविरल वर्षाका कारण गएको पहिरोले ५७ लाख बराबरको क्षति भएको डीएसपी खड्काले बताए ।

‘अहिलेसम्म १० परिवारका ५० जना विस्थापित हुनु भएको छ,’ खड्काले भने, ‘उहाँहरूसहित विभिन्न ठाउँमा करिब ५७ लाख बराबरको क्षति भएको विवरण आएको छ ।’

प्रकाशित : भाद्र २१, २०८१ २०:४२
x
×