कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विमान दुर्घटनाले उठाएका सवाल

पाठक पत्र

बुधबार बिहान नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनामा पर्दा १८ जनाले ज्यान गुमाउनुपर्‍यो । यो विमान दुर्घटनाले फेरि पनि नेपालको हवाई उड्डयनको सुरक्षाप्रति ठूलो प्रश्न खडा गरिदिएको छ । नेपालको आकाश मात्र होइन जमिनसमेत हवाई उडानका लागि सुरक्षित छैन भन्ने संकेत यो घटनाले दिएको छ ।

विमान दुर्घटनाले उठाएका सवाल

उसै त युरोपेली संघ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपालको हवाई सुरक्षाप्रति चिन्ता र गम्भीर सुरक्षा चासो राखिरहेको अवस्थामा यस्ता ठूला दुर्घटना निम्तिनु राम्रो होइन । देशकै प्रमुख विमानस्थलभित्रै भएको दुर्घटनामा पनि तत्काल उद्धार गर्न सकिएन, त्यसले अन्तर्राष्ट्रिय जगत्मा झनै गलत सन्देश गएको छ । बुधबारको घटनामा ढिलाइ हुनुको जिम्मा कसले लिने ? सौर्य विमान दुर्घटनाले उठाएका केही सवाल :

१. तत्कालै उद्धार गर्न केले बाधा पार्‍यो ? विमानस्थलभित्रको सम्पूर्ण पेरीफेरीमा उद्धार गर्न सहज हुने गरी दमकल पुग्ने गरी सडक निर्माण किन नगरिएको हो ?

२. विमानस्थलमा पटकपटक गरिने उद्धार अभ्यासबाट पनि किन सहज र यथाशीघ्र उद्धार गर्न सिकिएन ?

३. सी–चेक गर्न भनी पोखरा लान खोजिएको विमान त्यहाँसम्म उडान भर्न योग्य थियो कि थिएन ? स्वतन्त्र प्राविधिकहरू यसबारे के भन्छन् ?

४. परीक्षणका लागि लगिएको विमानमा बालबालिका र असम्बन्धित व्यक्ति किन हालियो ?

५. नेपालमा निजी क्षेत्रले ल्याउने घेरैजसो विमान पुराना हुने जनगुनासो छ । सरकारले यसमा कडा नियम बनाए यस्ता दुर्घटनामा न्यूनीकरण ल्याउन सकिन्थ्यो कि ?
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, जोरपाटी

विमान आधा किलोमिटर मात्र पर पुगेर दुर्घटनाग्रस्त बनेको भए अझ कति ठूलो जनधनको क्षति हुन्थ्यो होला ? यो दुःखद अवस्थालाई विगतसँग जोडेर हेर्ने हो भने केही वर्षयता विमान दुर्घटनाका शृंखला पहिलेको तुलनामा बढेको छ । डेढ वर्षअघि कर्णालीमा भएको तारा एयरको विमान दुर्घटना एवं २०७९ सालको माघे संक्रान्तिका दिन काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लाग्दा खोंचमा खसेर ७० भन्दा बढी यात्रुले ज्यान गुमाएको सन्दर्भ अविस्मरणीय छन् ।

सरकारी अकर्मण्यता, विमान दुर्घटनाबाट थपिएको महामारीसमेतका कारण ११ वर्ष बित्दा पनि युरोपेली संघले नेपाललाई कालोसूचीबाट हटाएको छैन । सरकारका पदाधिकारी एकातिर भ्रमण दशक घोषणा गरेर सुतेका छन् भने अर्कोतिर विमान दुर्घटना, बाढीपहिरोबाट प्रभावित सडक यात्रा आमनागरिकका लागि भयावह बनिरहेको छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

नेपालमा हवाई दुर्घटनाको इतिहास हेर्दा अहिलेसम्म ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् । नेपाली जनता यस्ता दुर्घटनाको भागीदार कहिलेसम्म बन्नुपर्ने हो ? चार वर्षीय बालकसहित एकै परिवारका तीन जनाको निधन अझ पीडादायी छ । दुर्घटनाको यकिन कारण खुलिसकेको छैन तर हरेक पटक छानबिन समिति बन्छन्, तर समाधानचाहिँ निक्लँदैन ।

विमानस्थलमा दुर्घटना भएको यो पहिलो पटक होइन । अर्को दुःखलाग्दो पक्ष त जब विमान खस्यो, समयमा दमकल पुगेन । यस्ता सानातिना समस्या नेपाल वायुसेवा निगमले किन समाधान गर्न सक्दैन ? अन्तर्राष्ट्रिय जगत्मा नेपालको उडान असुरक्षित छ भन्ने गरिएको छ, यसलाई सुधार्न सरकारले किन गम्भीर भएर ध्यान दिन सकेको छैन ? अहिले पनि विदेशीहरू नेपालको विमान चढ्न डराउँछन् । गाडी चढ्यो गाडी दुर्घटना हुने, विमान चढ्यो विमान दुर्घटना हुने, अनि यात्राचाहिँ केमा गर्ने ? नेपालीको यात्रा सधैं असुरक्षित मात्रै हुने हो ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : श्रावण ११, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×