कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

देशप्रति किन निराश छन् युवा ?

भाद्र २१, २०८१

नेपालका युवापुस्तामा देशभित्र अवसर खोज्नेभन्दा बाहिरने प्रवृत्ति देखिन्छ । यसबाट देशले शारीरिक श्रम र प्रतिभा गुमाउँदै लगेको छ । देशभित्र उद्योग, व्यवसाय र सरकारी क्षेत्रमा सीमित रोजगारीका अवसर छन् । पेसागत विकासका लागि आवश्यक अवसरको कमीले युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ । शिक्षा प्रणालीको कमजोरी पनि अर्को कारण हो ।

शिक्षाबाट प्राप्त ज्ञान र सीप देशभित्र उपयोग गर्न सकिने अवस्था छैन । राजनीतिक अस्थिरता र भ्रष्टाचारले पनि युवालाई निराश बनाएको छ । देशको शासन प्रणाली नै अस्थिर बनेपछि विश्वास गुम्दै गएको छ । नेपालमा नयाँ उद्यम र नवप्रवर्तनका लागि प्रेरणादायक वातावरणको अभाव छ । उद्यमशीलताका लागि अनुकूल नीति, वित्तीय सहयोग र संरचना नभएका कारण युवा वर्ग आफ्नो प्रतिभा र सोचलाई साकार पार्न बाहिर उड्न तयार देखिन्छन् ।

सामाजिक दबाब र परम्परागत सोच पनि एक कारण हो । परिवार र समाजले वैदेशिक रोजगारलाई सम्मानजनक मान्ने चलनले गर्दा युवापुस्तालाई विदेश जान हौसला मिल्छ । समस्याको समाधान नै युवालाई देशभित्र अवसर सिर्जना गर्ने वातावरण बनाउनु हो । रोजगारीका नयाँ ढोका खोल्ने, शिक्षा प्रणालीलाई सुधार गर्ने र उद्यमशीलताका लागि सहयोगात्मक संरचना बनाउने कार्यले मात्रै युवालाई देशमै बस्न प्रेरित गर्न सकिन्छ । देशको भविष्य बनाउने युवापुस्तालाई यहीँ नै राख्न सरकारले दीर्घकालीन दृष्टिकोण र ठोस नीति लिनु आवश्यक छ ।
– प्रज्वल भट्टराई, भरतपुर, चितवन

प्रकाशित : भाद्र २१, २०८१ ०९:०८
x
×