कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११५

युवा पलायन र राज्यको मौनता

भाद्र २०, २०८१
युवा पलायन र राज्यको मौनता

सबैजसो घरपरिवारसँग जोडिएको र ग्रामीण अर्थतन्त्र मजबुत बनाउन उपयोगी ठानिएको सहकारी संस्थाको ठगीबाट घर न घाट बनेका सर्वसाधारणले लामो समयदेखि आन्दोलन चर्काए पनि सरकार आँखा चिम्लेर बसेको छ । उखु किसानको रुवाबासी थामिन नपाउँदै दुग्ध विकास संस्थान धराशायी बनेको, किसानले पाउनुपर्ने अर्बौं नतिर्दा कृषक बिचल्लीमा परेको खबर आइरहेका छन् ।

सर्वसाधारणलाई न दुःखजिलो गरेर कमाएको रकम जम्मा गर्ने सुरक्षित ठाउँ छ, न त सरकारले ढुक्कसँग व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गरेको छ । गाउँदेखि सहरसम्म आफू र परिवारका सदस्यको अस्तित्व डगमगाउन थालेपछि नागरिक विदेश पलायन भइरहेका छन् । सबैलाई लखेटेर रेमिट्यान्स भित्र्याउने लक्ष्य लिई अघि बढेको सरकार आफैंलाई देशप्रति विश्वास नभएको हो कि ?

दुःखको कुरा, कामदारका रूपमा गएका धेरैलाई स्वास्थ्य र खासगरी मिर्गौलाको समस्याले दिन प्रतिदिन प्रताडित बनाएका समाचार सार्वजनिक भएका छन् । स्वास्थ्य संस्थाबाट प्राप्त जानकारीअनुसार कामदारका रूपमा गएका ३० देखि ४० वर्ष उमेर समूहका युवाको पीडा शब्दमा वर्णन गर्न सकिँदैन ।

५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा अहोरात्र घोटिनुपर्ने, तिर्खा लाग्दा पानीसमेत पिउन नपाउने, एउटै कोठामा धेरै जना खाँदिएर बस्नुपर्ने, रोजगारदाताले समयमा तलब नदिने, अकाल मृत्यु हुनेलगायत कामदारका जल्दाबल्दा समस्या हुन् ।

सत्ताधारी भने भारत, चीन, बंगलादेशजस्ता देशबाट पनि ठूलो संख्यामा कामदार बाहिरिने कुतर्क पेस गर्छन् । आफ्ना युवाले पराई भूमिमा पाएको दुःखलाई नजरअन्दाज गरी हाम्रा नेताहरूले रेमिट्यान्समै मुख मिठ्याइरहनु देशको विडम्बना हो ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

कृषिमा अत्यधिक रोजगारी र उत्पादनको सम्भावना भएर पनि युवा पुस्ताले वैदेशिक रोजगारीको बाटो रोज्नुमा सरकार नै मुख्य दोषी रहेको छ । युवाले नयाँ प्रविधि भित्र्याएर पनि रोजगारी र आय आर्जनको व्यवसायमा प्रयास नगरेका होइनन् ।

तर राज्यले उनीहरूको उत्साहलाई ध्यान नदिई आयातमुखीतिर दिन प्रतिदिन आँखा सोझ्याइरहेको छ । हाम्रो उत्पादन पर्याप्त मात्रामा हुँदा पनि आयातलाई रोक्न राज्यले कुनै प्रयास नगरेकै हो, जसले गर्दा इमानदार मिहिनेती किसानको लगानी, जोसजाँगर माटोमा नै सीमित हुन पुगेको छ ।


आफ्नो प्रतिफलको कुनै टुंगो नलागेपछि धेरैजसो युवाले देशभित्र सम्भावना देख्न सकेनन् । कामदार र पढेलेखेका युवाजति विदेशिन बाध्य भए । देशमा नयाँ उद्योग कलकारखाना कतै स्थापना भएनन् । सरकारको स्थायित्वको ग्यारेन्टी भएन । मोटाए त टाठाबाठा, व्यापारी, बिचौलिया मात्र मोटाए । सोझासाझा किसान दिन प्रतिदिन ऋणमा डुब्दै गए ।

राज्यले किसानका लागि अस्पताल, विद्यालय र अन्य सार्वजनिक सेवामा यो यो सुविधा छ भनेर कुनै नागरिक बडापत्रमा उल्लेख गरेको छ भने किसानले देख्ने गरी राख्नुपर्‍यो । अन्यथा देशमा युवा किसान कसरी टिकाउन सकिन्छ र ? कर्मचारीको तलब भत्ता बढ्ने, किसानले प्रयोग गर्ने हरेक सामग्री, मल, विषादीमा भ्याट लाग्दै जाने हो भने देशमै रहेर कर्म गर्नुको कुनै अर्थ रहँदैन ।

किसानमैत्री बजेट, सुविधा, बिमा, बजार मूल्य, ऋण अवसर, प्रविधि र प्राविधिक किसानले कहिले पाउँछन् ? सरकारले प्रस्ट पार्नुपर्‍यो । जब युवा किसानको स्थायित्व देशमा हुन्न, कृषि उत्पादनको समस्या ज्युँका त्युँ रहिरहन्छ ।
– रामेश्वर बासी, चाँगुनारायण, भक्तपुर

प्रकाशित : भाद्र २०, २०८१ ०७:५५
x
×