कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

'हिंसा’ शब्द कसरी संसदीय ?

भाद्र २८, २०८१

हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विषयलाई लिएर चलेको जुहारीका कारण बुधबारदेखि संसद् अवरुद्ध हुन पुगेको छ । दुई सातादेखि प्रतिनिधिसभा यही एउटा शब्दका कारण विवादको थलो बनेको छ । जुन अत्यन्तै दुःखद् विषय हो । यो विवादको सुरुवात एमाले सचिव एवं सांसद योगेश भट्टराईले गरेका हुन्, त्यसमा नुनचुक छर्ने काम एमाले–माओवादी सांसदहरूका अतिरिक्त अहिले सभामुख देवराज घिमिरेले गर्न पुगेका छन् ।

बुधबार संसद् अवरुद्ध गर्ने प्रमुख पात्र नै सभामुख हुन पुगे । उनले हिंसा शब्दको जुन व्याख्या गर्दै रुलिङ गरे, विवादको बिन्दु नै त्यही हुन पुग्यो । सभामुख घिमिरेले हिंसा शब्द संसद्मा बोलिरहेको र बोल्न मिल्ने संसदीय शब्द नै भएको हुँदा त्यो संसद्को रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरे, जुन गलत र दुर्भाग्यपूर्ण मात्र होइन असंसदीय र असंवैधानिक छ । संविधानको कुनै पनि धारामा कहींकतै पनि हिंसा शब्द लेखिएको छैन । बरु जनयुद्ध, सशस्त्र युद्ध जस्ता शब्द संसदीय मान्न मिल्छ ।

संसद्को क्याप्टेनले संसद्लाई शान्तिपूर्ण तरिकाले सञ्चालन गर्नुपर्ने हो, उसैले गलत रुलिङ गरेर अवरुद्ध पार्छ भने त्यो जस्तो दुर्भाग्यपूर्ण अरू के होला ? केही दिनअघि एमाले सचिव भट्टराईले पनि सार्वभौम संसद्मा माओवादी पार्टीलाई अपमान गर्ने गरी यही शब्द र भाषा पटकपटक प्रयोग गरेका थिए । उनले माओवादीले १० वर्ष जनयुद्ध होइन हिंसा गरेको आरोप लगाएका थिए तर आफ्नै पार्टीले स्थापनाकालमा गरेको त्यस्तै प्रकृतिको हिंसा भने जानीजानी बिर्सन पुगे ।

उनीजत्तिको पढेलेखेको मानिसले त्यस्तो भाषा र शब्द प्रयोग गर्नु र आफ्नै पार्टीको इतिहास र तथ्य बिर्सनुले उनकै कद होचो बनाएको छ । के झापा आन्दोलन हिंसा होइन ? माओवादीले गर्दा हिंसा हुने अनि एमालेले गर्दा त्यो कमलको फूल हुने ? जहाँसम्म हिंसाको कुरा छ, आम नेपाली जनता शान्तिप्रिय छन्, जो हिंसा गर्न मात्र होइन त्यो शब्द सुन्न पनि चाहँदैनन् । चाहे त्यो माओवादीले गरेको होस्, एमाले या कुनै दलले !
– गोपाल देवकोटा, गोकर्णेश्वर–८ काठमाडौं

प्रकाशित : भाद्र २८, २०८१ ०७:०२
×