कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

ओली–बालेन जुहारी, देख्नेलाई लाज

भाद्र २८, २०८१
ओली–बालेन जुहारी, देख्नेलाई लाज

प्रधानमन्त्री केपी शर्मा ओलीको सय दिनको हनिमुन अवधि सकिएको छैन । ओलीका तीन कार्यकाल त्यति सुखद हुन नसके तापनि यो कार्यकाल सुनौला अक्षरले इतिहास लेखिने गरी सफल होस् भन्ने कामना सबै शुभचिन्तकको रहेकामा दुईमत छैन । नेपालका दल र सरकारप्रति जनताको भरोसा टुटेको अवस्थामा देशकै दुई ठूला दलबीचको सहकार्यमा दुईतिहाइको सरकार बनेको छ । अहिलेको सन्दर्भमा जनतामा आशा जगाउने महत्त्वपूर्ण अवसर बोकेका देशका प्रधानमन्त्री हुन्, ओली ।

सरकार गठनका विभिन्न विकल्पको परीक्षण भइसकेको अवस्थामा यो अन्तिम विकल्पको सरकार बनेको छ । यो विकल्प पनि असफल बनाउने छुट छैन । र, पूरा कार्यकाल सरकार चलाई २०८४ को चुनावसमेत सम्पन्न गराउने महत्त्वपूर्ण कार्यभार यो सरकारमाथि छ । संघीय गणतन्त्रको डोरी चुँडिन मात्रै बाँकी रहेका बखत प्रधानमन्त्री बन्ने सौभाग्य पाएका ओलीले यसलाई अधिकतम सदुपयोग गर्दै न्यायिक सुशासन र विकासमा अग्रसर भई लाग्नुपर्ने कार्यभार अर्जुनदृष्टि लगाई सम्पन्न गर्नुपर्नेछ ।

यता, बालेन शाह काठमाडौं महानगरका मेयर मात्र हुन् र उनको राजनीतिक यात्रा निकै लामो छ । उनले शुभ बिहानीको सङ्केत दिन थालेको पनि कसैसँग छिपेको छैन । एकातर्फ राम्रो, नराम्रो जे भए पनि बालेनप्रतिको क्रेज बढ्दै जानु र अर्कातिर ओलीप्रतिको क्रेज घट्दै जानु संयोग मात्र नभएको हेक्का ओली र उनका दलका कार्यकर्तालाई छ कि छैन ? बालेनको कार्यकाल त अझै दुई वर्ष बाँकी छ तर ओलीको कार्यकाल त्यति लामो छैन र उस्तै परे जुनसुकै बेला सरकार ढल्न सक्ने सम्भावना पनि उत्तिकै छ । यो बेलामा देशका प्रधानमन्त्रीले देश र जनताको भलो हुने खालका आफ्ना काम सरासर गर्ने हो न कि सानातिना कुरामा अल्झिने । अहिले देखिएको ओली–बालेन द्वन्द्व केटाकेटीको झगडा जस्तो देखिएको छ ।

देशका दुई ठूला व्यक्ति यसरी झगडा गर्दा कत्ति सुहाएको छैन र पक्ष विपक्षमा कार्यकर्ताको लस्कर देखिनु अझ बढी लाजलाग्दो छ । सामाजिक सञ्जालमा सक्रिय ओली–बालेन दुवैले आफ्ना अभिव्यक्ति दिनु कत्ति सुहाएको छैन । काठमाडौं खाल्डोमा बसेका यी दुईको झगडा मानौं दुई देशबीचको झगडा जस्तो देखिन्छ । आ–आफ्नो कित्ताकाट गरेजस्तो गरी दुवै सरकार प्रमुख यसरी असभ्य तरिकाले प्रस्तुत हुँदा के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज जस्तो भएको छ । यो शृङ्खला यथाशक्य छिटो अन्त्य गर्न र अर्जुनदृष्टिले विकास निर्माणमा लाग्न दुवै तहका सरकार प्रमुखसँग जोडदार माग गर्दछु ।
– नरनाथ पाण्डे, कावासोती–८, नवलपुर

प्रकाशित : भाद्र २८, २०८१ ०७:०३
×