कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

डेंगी नियन्त्रण हुँदैन ?

पाठक पत्र

कान्तिपुरमा असार २७ मा प्रकाशित ‘उकालो चढ्दै डेंगी’ शीर्षकको समाचार पढ्दा निकै दुःख लाग्यो । नेपालका लागि जनस्वास्थ्य समस्याका रूपमा नरहेको र एक दशकअघिसम्म मनसुनी वर्षापछि छिटफुट रूपमा देखिने किटजन्य रोग डेंगी अहिले मुलुकभर फैलिसकेको छ । नेपालका मध्य र पूर्वी तराईका केही जिल्लामा मात्र फैलिने र वर्षा सकिई जाडो मौसमको सुरुवातसँगै हराएर जाने डेंगी अहिले किटजन्य रोगको विकराल जनस्वास्थ्य समस्याका रूपमा रहेको छ ।

डेंगी नियन्त्रण हुँदैन ?

असार मध्यसम्ममा जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ हिमाली चार जिल्लाबाहेक ७३ जिल्लामा डेंगीबाट संक्रमित बिरामी भेटिएका छन् । उच्च संक्रमण वृद्धिदरसहितको डेंगीले २०७९ मा ५४ हजारलाई संक्रमित गरेको थियो भने संक्रमितमध्ये ८८ जनाको ज्यान गएको थियो । गत पुसयता मुलुकभरका झन्डै १ हजार ५ सय जनामा डेंगी लागेको पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्र सर्वाधिक १ सय ६५ जना, झापामा १ सय २३ र चितवनमा ८६ जना संक्रमित भइसकेका छन् । डेंगीलगायत किटजन्य तथा सरुवा रोग नियन्त्रण सम्बद्ध सरकारी निकायले डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि स्थानीय सरकारसम्म पत्राचार गरेको समाचार छ । हुन त दक्षिण अमेरिकी मुलुक, दक्षिण–पूर्वी एसियालगायत विश्वका करिब १ सय मुलुकमा डेंगीले जनस्वास्थ्य समस्या सिर्जना गरेको छ । २४ वर्ष पहिले विश्वभरका ५ लाख जनालाई संक्रमित गरेको डेंगीले गत वर्ष संक्रमित भएकाको संख्या ६५ लाख पुगेको छ ।

जलवायु परिवर्तन, औसतभन्दा बढी पानी पर्नु, जनचेतनाको स्तर कम हुनु, मृत्युदर कम हुनाले लापरबाही बढी गर्नु, जीवनशैलीमा परिवर्तन, इडिस इजिप्टाई लामखुट्टेको प्रतिरक्षा प्रणाली बलियो हुनुका साथै हरेक जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत किटजन्य रोग नियन्त्रण सुपरिवेक्षकलाई परिचालन गरी सर्वेक्षण तथा लामखुट्टे नष्ट गर्न ध्यान पुर्‍याउन नसक्नु र लामखुट्टेका लार्भा र वयस्कसमेतलाई नष्ट गर्न खाली टायर, फटेका सिसा, गमला सुरक्षित विसर्जन नगरिनु, कुलरलाई समयसमयमा सफाइ नगरिनु जस्ता कारणले पनि डेंगी संक्रमण बढेको हो ।

यसलाई नियन्त्रण गर्न स्थानीय वा प्रदेश सरकारलाई पत्राचार गरेर मात्र पुग्दैन, पत्र पुग्न समय लाग्छ । त्यसैले आफ्ना संयन्त्रलाई नियन्त्रणमा तुरुन्तै परिचालन गर्न सक्नुपर्छ । विगतमा कुनै रोग नियन्त्रण गर्न जिल्लाका सम्बन्धित रोग सहायक वा सुपरिवेक्षकलाई परिचालन गरिन्थ्यो । अतः हरेक जिल्लाका भेक्टर नियन्त्रण सहायक वा सुपरिवेक्षकलाई परिचालन गरी इडिस लामखुट्टे नष्ट गर्ने अभियान चलाउनुपर्छ । संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गरी हरेक शिक्षालय, स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था आदिलाई परिचालन गरी घरदैलोमै सर्भिलेन्स र जनचेतना फैलाउनुपर्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : श्रावण २, २०८१ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×