कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

कांग्रेस बैठकमा चलेको बहस

भाद्र ११, २०८१

अहिले देशकै पुरानो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको छ । सिंगो देशले आशा र भरोसा गरेका उदीयमान महामन्त्रीद्वयको प्रस्तावउपर छलफल भइरहेको सुन्नमा आएको छ । महामन्त्री गगन थापाको प्रस्ताव वास्तवमै आम नागरिक, कार्यकर्ता र स्वाभिमानी नेतासमेतलाई चित्तबुझ्दो छ । तर, भरपूर चेतनाको विकास भइनसकेका जनता, गुलामी र दासत्वमा नै आफ्नो भविष्य सुरक्षित देख्ने केही नेता र कार्यकर्ताहरूका कारण त्यो प्रस्तावलाई विवादमा ल्याइएको छ । यसमा सिर्फ सत्तास्वार्थ लुकेको छ, आफूलाई आफैंमा विश्वास छैन ।

कसैको बैसाखीमा सत्ताको भर्‍याङ चढ्नु छ । अब कांग्रेसका शुभेच्छुकहरूले कांग्रेसलाई भोट हाल्न पाउनुपर्छ, कांग्रेसमा बसेर नेतृत्व विकास गरिरहेकाहरूले कांग्रेसकै प्रतिनिधित्व गरेर आफूलाई परीक्षण गर्न पाउनुपर्छ भन्नु उनीहरूको अधिकार होइन र ? एक्लै बढी सिट जित्न सकिन्छ भन्ने आत्मविश्वास नभएका, अरूसँगको साँठगाँठमा सत्तामा उक्लिन खोज्ने नालायकहरूलाई आफ्ना नेता/कार्यकर्ताको स्वाभिमानको के ख्याल हुनु र !

यस्तो सरल र सहज विषयमा पनि अनावश्यक विवाद निकालेर महामन्त्रीको कद घटाउन सकिन्छ कि भनेर लाग्ने नेताहरूले थोरै भए पनि लज्जा महसुस गर्नुपर्ने हो । तर यहाँ त्यस्तो हुँदैन । अर्का शालीन महामन्त्रीको प्रस्ताव भने कताकता नमिलेको हो कि जस्तो देखिन्छ ।

उहाँले लक्षित गर्नुभएकाहरूलाई जनता र कार्यकर्ताहरूले दण्डित गर्नुपर्ने हो । तर, माथि नै भनिसकियो कि हाम्रोमा सबै नागरिकमा चेतनाको विकास भइनसकेको र केही नेता/कार्यकर्ता गुलामी र दासत्वमा नै रमाउने भएकाले सत्तालोलुपहरूकै चाहनाअनुसार नै चल्दै जाला । आशा गरौं, समयको प्रवाहसँगै सबै ठीक भएर जानेछ ।
– रत्नप्रसाद लुइँटेल, पाँचखाल–१०, काभ्रे

प्रकाशित : भाद्र ११, २०८१ १०:३१
x
×